काठमाडौं,१९ पुस । नेकपा एकीकृत समाजवादीभित्र पार्टी एकता र सरकारको बिषयमा चार धार देखिएको छ । स्थायी समिति र पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्नेक्रममा नेताहरु बिभाजित हुँदा यस्तो धार देखिएको हो ।
चुनावमा राष्ट्रिय पार्टी हुन नसकेको अवस्थामा सत्ता गठबन्धनसमेत फेरिएपछि नेकपा एकीकृत समाजवादीभित्र चर्काे निरासा छाएको छ । त्यसमाथि अध्यक्ष माधवकुमार नेपालको कुण्ठा र आफ्नो लागि मात्रै सोच्ने शैलीको शिकार भएको भन्दै बरिष्ठ नेता र पदाधिकारी नै आक्रोशित बनेका छन । यही आक्रोश शान्त पार्न बोलाइएको बैठकमा सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपाललाई तह लगाउन एक ब्यक्ति एक पदको अश्त्र हान्नुभएको छ भने पदाधिकारी तथा सदस्यहरु तत्कालै नेकपा एमालेसँग एकता गर्नुपर्ने अडानमा रहेका छन ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नागरिक उन्मुत्तिः र जनमत पार्टीसहित सात दलको समीकरण बनेपछि नेकपा एकीकृत मर्माहत बनेको बैठकको दृष्यहरुले देखाइरहेको छ । यही क्रममा बैठकमा एमालेसँग एकता हुनुपर्ने, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जानुपर्ने धार सशक्त देखिएको छ । यस्तै गठबन्धन कसरी अघि बढ्छ, त्यसलाई पर्खिने र हेर्ने धार पनि देखिएको छ भने केही नेताहरु जसपासँग एकताको कुराअघि सारेका छन ।
एमालेसँग एकता र सरकारमा सहभागी हुनुपर्ने धारको नेतृत्व बरिष्ठ नेता मुकुन्द न्यौपानेले गर्नुभएको छ । न्यौपानेले नेतृत्वले कुण्ठा त्यागेर एमालेसँग एकताको बाटो नलिए कार्यकर्ता पार्टीमा नरहने र पार्टी आफै सकिने घोषणासमेत बैठकमा गर्नुभएको छ । नेकपा एकीकृतबाट निर्वाचित अधिकांश सांसदहरु पनि एमालेसँग एकता र सरकारमा सहभागी हुनुपर्ने लाइनमा उभिएका छन ।
‘अहिले पार्टीभित्र बिभिन्न कुराहरु आएका छन । अहिले सरकार वामपन्थीको हो, यसलाई समर्थन गर्नुपर्छ र सरकारमा जानुपर्छ भन्ने पक्ष निकै बलियो देखिएको छ, बैठकबारे न्यौपानेले भन्नुभयो, त्यही धार पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा छ ।
विगतमा जे भयो भयो त्यसलाई समीक्षा गर्ने र एकता गरेर जाने हो उपलब्धिपूर्ण हुने, नभए समाप्त हुने पनि न्यौपानेको भनाई छ । न्यौपानेले सुरुदेखि नै एमालेसँग मिलेर जानुपर्ने धारणा राख्दै आउनु भएको छ । बैठकमा धेरै नेताहरुले अव समाजवादी पार्टी नचल्ने र जनताले अस्वीकार गरेको तथ्यलाई आत्मसाथ गरी एमालेमा फर्किने वा माओवादीमा बिलय भएर जाने अवस्था आएको पनि बताएका छन ।
मंसिर ४ गते भएको निर्वाचनमा एकीकृत समाजवादीले ३ प्रतिशत पनि मत ल्याउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएको छ । प्रत्यक्षतर्फ १० सिट जिते पनि भविष्यको विषयमा नेता तथा कार्यकर्ता तहमा चिन्ता व्यक्त हुँदै आएको छ ।
बरिष्ठ नेता न्यौपानेले समयको मागलाई बुझ्न नसके सवैले दण्डित हुनुपर्ने ‘अहिलेको बिश्लेषणसमेत बैठकमा सुनाउनु भएको छ । समयमा दिएको निर्देशन भनेको वामपन्थी दलहरूबीचको एकता नै हो । समयले दिएको यो निर्देशनलाई जसले पालना गर्दैन, त्यसलाई समयले नै दण्डित गर्छ,’ न्यौपानेको भनाई छ । सदस्यहरु कडिकडाउ रुपमा प्रस्तुत भएपछि बैठकमा अध्यक्ष नेपालले केपी ओलीलाई प्रतिगमनकारी भन्ने कुरा ठूलो राजनीतिक भूल भएको समेत बताउनु भएको छ ।
बैठकमा बोल्ने अधिकांश नेताले एमालेबाट बिद्रोह र नयाँ पार्टी गठनको औचित्य पुष्टि नभएको भन्दै जनादेशअनुसार सच्चिएर एमालेसँग नै एकता सवैभन्दा उपयुक्त बिकल्प भएको समेत बताएका छन । उनीहरुको भनाई छ, ‘एमालेसँग एकताको बाटो रोजेर सच्चिने कि कुण्ठा पालेर सक्किने ? यो दुईमध्ये एक बिकल्प रोज्नुपर्छ ।’




















