काठमाडौं,१९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र सत्ता गठबन्धनका प्रमुख नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।
एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भेटबार्ता भएको हो । सरकारले लिन लागेको बिश्वासको मत, मन्त्रालय बाँडफाँट र प्रदेशको मुख्यमन्त्रीको बिषयमा दुई नेताबीच छलफल भएको छ । प्रदेश प्रमुखले धमाधम मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो ।
दुई नेताबीच यसअघि नै ४ वटा मुख्यमन्त्री एमाले, २ माओवादी र १ जसपा र नागरिक उन्मुक्तिबीच आलोपालो गर्ने प्रारम्भिक सहमति जुटेको छ । तर केही दिनयता राप्रपा र नागरिक उन्मुक्तिले पनि मुख्यमन्त्री दावी गरेपछि सत्ता गठबन्धनभित्रै केही असहज देखिएको छ ।
यसअघिको सहमतिमा एमालेले प्रदेश १, गण्डकी, कर्णाली तथा बागमति र लुम्बिनीमध्ये एक प्रदेशको मुख्यमन्त्री लिने सहमति भएको थियो । यस्तै माओवादीले सुदुरपश्चिम प्रदेश र लुम्बिनी वा बागमतिमध्ये एक गरी दुई र मधेश प्रदेशमा जसपा र नागरिक उन्मिुक्तिले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको थियो । तर बागमतिमा राप्रपाले समेत दावी गरेको छ ।
आजको छलफलमा यी सवै बिषयलाई कसरी मिलाएर लैजाने भन्ने बिषयमा छलफल भएको छ । छलफलमा सत्ता गठबन्धनका सवै नेताहरुसँग छलफल गरी सहमतिका साथ अघि बढने निश्कर्ष निकालिएको छ ।




















