काठमाडौं,५ माघ । २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेस बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बन्न सफल भयो । समग्र परिणाम हेर्दा प्रदेश १ मा मात्र तत्कालीन सत्ता गठवन्धनमा सामेल दल र एमालेसहितका इतर समूह बराबरीको अवस्थामा थिए ।

अरु ६ वटै प्रदेशमा काँग्रेस र माओवादी मिल्दा सरकार गठनका लागि पल्लाभारी हुन्थ्यो । तर, प्रधानमन्त्री पदको एउटा दाबी नछोड्दा केन्द्रीय सत्ता मात्र होइन प्रदेशमा समेत काँग्रेस शून्यमा झ¥यो र अब टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आएको छ । प्रदेशहरुमा एमाले–माओवादी केन्द्र सहितका दलको भटाभट मिलिजुली सरकार बनिरहँदा ठूलो दल काँग्रेस यतिबेला अरुको निगाह कुरेर बस्नुपर्ने विडम्वनाबाट गुज्रेको छ ।

कुल ५३ सिट रहेको सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १२ र समानुपातिकमा ७ गरी कुल १९ सिट जितेको अवस्था थियो । यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ८ र समानुपातिकमा ३ सहित कुल ११ सिट जितेको छ । यता एमालेले प्रत्यक्षमा ३ र समानुपातिकमा ५ गरी कुल ८ सिट जितेको थियो । नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी ७ सिट पाएको थियो ।

यस्तै सुदूरपश्चिममा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी ४ सिट जितेको छ । राप्रपाले समानुपातिकमा १ सिट मात्र जितेको छ । सुदूरपश्चिममा एक जना स्वतन्त्रमा विजयी भएका छन् । चालिस सिट रहेको कर्णाली प्रदेश सभामा पनि कांग्रेसले प्रत्यक्षमा ९ र समानुपातिकमा ५ सहित जम्मा १४ सिट जित्दै पहिलो दल बनेको थियो । प्रत्यक्षमा ९ र समानुपातिकमा ४ समेत १३ सिट प्राप्त गरी माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ ।

एमालेले प्रत्यक्षमा ५ र समानुपातिकमा ५ गरेर १० सिट मात्र जितेको अवस्था थियो । यस्तै एकीकृत समाजवादी र राप्रपाले समानुपातिकतर्फ १–१ सिट प्राप्त गरेका छन् । १ जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

यता ९३ सिट रहेको प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सिट जितेको छ । कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सिट जितेर एमालेपछि दोस्रो ठूलो दल बनेको थियो । माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सहित १३ सिट जितेको छ । एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ सहित कुल ४ सिट जितेको छ । राप्रपाले प्रत्यक्षमा २ र समानुपातिकमा ४ गरी ६ सिट जितेको छ । जसपाले समानुपातिकमा १ सिट पाएको छ । तुलनात्मक रुपमा एमाले बलियो रहे पनि प्रदेश १ मा तत्कालिन गठवन्धन इतरको १ सिट मात्र बढी रहेको अवस्था थियो ।

११० सिट रहेको बागमती प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी कुल ३७ सिट जितेर पहिलो दल बनेको थियो । एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट जितेर दोस्रो ठूलो दल बनेको छ ।

माओवादी केन्द्रले प्रत्यक्षमा १४ र समानुपातिकमा ७ गरी २१ सिट जितेर तेस्रो ठूलो दल बनेको छ । राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी १३ सिट जितेर चौथो ठूलो दल बनेको छ । बागमती प्रदेशमा नेमकिपाले प्रत्यक्षमा १ र समानुपातिकमा २ सिट प्राप्त गरेको छ । हाम्रो नेपाली पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा १ सिट प्राप्त गरेको छ ।

यता मधेश प्रदेशका कुल १०७ सिट मध्ये एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी २३ सिट जितेको छ । कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिटमा जित हासिल गरेको छ । माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी जम्मा ८ सिट जितेको छ । मधेशमा जसपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सिट गरी १६ सिट जितेको छ । एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी कुल ७ सिट जितेको छ । लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी कुल ९ सिट जित हासिल गरेको छ ।

जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी कुल १३ सिट जितेको छ । राप्रपा नेपाल, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ १/१ सिट मात्र प्राप्त गरेका छन् । मधेस प्रदेशमा ६ जना स्वतन्त्र सांसद विजयी भएका छन् ।कुल ६० सिट रहेको गण्डकी प्रदेश सभामा पनि नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी कुल २७ सिट जितेको छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट गरी कुल २२ सिट जितेर काँग्रेसपछि दोस्रो ठूलो दल बनेको छ । माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी जम्मा ७ सिट जितेर तेस्रो दल बनेको छ । प्रत्यक्षतर्फ नेपाल समाजवादी पार्टीले १ सिट र स्वतन्त्रले १ सिटमा जितेका छन् । राप्रपाले समानुपातिकबाट २ सिट प्राप्त गरेको छ ।

८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा पनि तत्कालीन सत्ता गठवन्धनकै पल्लाभारी थियो । एमालेले प्रत्यक्षमा १८ र समानुपातिकमा ११ गरी कुल २९ सिट जितेको छ । कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १० सहित जम्मा २७ सिट जितेर दोस्रो ठूलो दल बनेको छ ।

माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ४ गरी कुल ९ सिट जितेको छ । जसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टी र राप्रपाले प्रत्यक्ष र समानुपातिकमा २–२ सिट जितेका छन् । लोसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ सिट जितेको छ । जनमत पार्टीले प्रत्यक्ष र समानुपातिकमा १–१ सिट जितेको छ । राष्ट्रिय जनमोर्चाले समानुपातिकमा १ सिट जितेको छ । यहाँ ३ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।