काठमाडौं,९ माघ । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो भन्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कमल थापाको पथमा अगाडि बढेको टिप्पणी गर्न थालिएको छ । महाधिवेशनबाट कमल थापालाई विस्थापित गरेर पार्टीमा स्थापित भएका लिङ्देनले पछिल्लो समय कथनी र करणी फरकफरक गर्न थालेका छन् ।
मंसिर ४ गतेको चुनाव हुँदा घोषणापत्रमै सरकारमा सहभागी नहुने, सदनमा जनताका सवालहरू उठाउने स्पष्टसँग लेखेका लिङ्देन अहिले आफैं उपप्रधानमन्त्री भएर सरकारमा सामेल भएका छन् । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालले २५ सिट हात पारेको थियो ।
आफ्ना सबै मुद्दा थाँती राखेर शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल भएपछि राप्रपा नेपाल र कमल थापाको दुवैको राजनीति अवशान सुरु भएको थियो । सोही किसिमले लिङ्देनले अहिले फेरि आफ्ना मुद्दाहरू छोडेर सरकारमा आफैं उपप्रधानमन्त्रीसहित सामेल भएका छन् । लिङ्देनले सुशासन, संघीयताको खारेजीको मुद्दालाई बलीमा चढाइसकेका छन् ।
सत्तामा पुगेपछि भने राप्रपा अध्यक्ष लिङ्देनको बोली र व्यवहार फरक देखिन थालिएको छ । संघीयता खारेजीको माग गर्दै आएका लिङदेन नेतृत्वको पार्टीले प्रदेश प्रमुखका लागि गरेको मरिहत्तेबाट उसको नियत छर्लङग भएको छ। राप्रपाले चुनावमा जनताको असन्तुष्टिलाई ‘क्यास’ गर्न संघीयताको खारेजीको मुद्दा उठ्यो । तर चुनावपछि सत्तामा पुग्नका लागि संघीयताको मुद्दालाई पनि तिलाञ्जली दिँदै बागमती प्रदेशसभाको सभामुख हात पा¥यो ।
बागमती प्रदेशसभाका सभामुख भुवन पाठक राप्रपाका निर्वाचित महामन्त्री हुन् । राप्रपा त्यही दल हो, जसले प्रदेश खारेजीको माग गर्दै चुनावमा मत मागेको थियो ।राप्रपाले सबै मुद्दालाई तिलाञ्जली दिँदै सत्ता सयर गर्न पुगेपछि राप्रपा र अध्यक्ष लिङ्देनको चर्को आलोचना भएको छ ।




















