काठमाडौँ,१० माघ । एमाले सचिव समेत रहेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरी दोषी भए पक्राउ गर्न तर पक्राउ नगरेको विषयलाई एमालेसँग नजोड्न आग्रह गरेका छन् ।

 प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै महासेठले लक्ष्मी महतोलाई अपराधीकै रुपमा अदालतले किटान नगरेकाले अहिले उनीबारे धारणा नबनाउन अनुरोधसमेत गरे ।

‘मन परेन कि अपराधी भन्ने ?’ महासेठले भने, ‘३ वर्षयता कुनै सरकारले उहाँलाई किन समातेन ? पूर्ववर्ती सरकारले त उहाँलाई सम्मान गर्ने काम भएको थियो । लक्ष्मी महतोलाई प्रहरीले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्‍यो । होइन भने एमालेमाथि लगाएको आरोपमा सत्यता छैन । 

गृहमन्त्रालयलाई मेरो अनुरोध छ कानुनअनुसार काम गर्नुहोस् उहाँलाई समाउनु नै पर्नेछ भने समाउनुहोस् एमालेको नेताबाट बाधा आउँदैन ।’उनले यसो भनिरहँदा कोइरी लोकप्रिय नेता रहेको र उनको मुद्दा पुनरावेदनको क्रममा रहेकाले अहिले नै अपराधी भन्न नमिल्ने बताए ।