काठमाडौं,१६ माघ। नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य लक्ष्मणबहादुर बम नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
कालीकोटको पलाँटा गाउँपालिकाका पूर्व अध्यक्ष बमलाई पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा शनिबार महासचिव शंकर पोखरेलले खादा र अवीर लगाई स्वागत गर्नुभयो ।
बम गत निर्वाचनमा प्रदेश सभाको उम्मेदवार हुनुहुन्थ्यो । उहाँसँगै शनिबार १५ जना नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्नेछ’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुशी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने वताउनुभएको छ ।
वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वतीपूजाको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा अध्यक्ष ओलीले त्यस्तो सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको हुँदा समस्त दिदीबहिनी–दाजुभाइहरूमा त्यस्तो प्रज्ञाप्रकाश प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले सन्देशमा देशलाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने उद्देश्यमा एकतावद्ध हुन सबैलाई आह्वान पनि गर्नुभएको छ ।
नेपालीको साझा राष्ट्रिय आकाङ्क्षाका रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई नेकपा (एमाले) ले आफ्नो गन्तव्य बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरू एवं ती नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यसहित अघि बढिरहेको वताउनुभएको छ ।




















