काठमाडौं,११ फागुन । एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई भेट्नुअघि नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर यही प्रस्ताव राखेका थिए ।
देश संकटमा जान लागेकाले एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता गर्नुपर्ने उनको प्रस्ताव थियो । त्यसो गर्दा संसदको सबभन्दा ठूलो दल बन्ने र सबै प्राप्त गर्न सकिने भन्दै उनले अध्यक्ष नेपाललाई राष्ट्रपति पनि बनाउन सकिने संकेत गरेका छन् ।
बुधबार पार्टी सचिवालय बैठकमा ओलीसँग भएको भेटबारे ब्रिफिङ गर्दै अध्यक्ष नेपालले सोझै प्रस्ताव नगरेको, तर मनोविज्ञानमा त्यो झल्किएको सुनाएका थिए । ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपछि कांग्रेस सभापति देउवा भने दबावमा आएका छन् ।
एमाले–माओवादीको सत्ता गठबन्धन टुटाउने र राष्ट्रपति लिन निरन्तर प्रचण्डसँग सम्वादमा थिए । प्रचण्डले पनि राष्ट्रपतिमा वचन दिएका थिए । तर ओलीले माधव नेपाललाई गरेको प्रस्तावले सत्ता गठबन्धन जोगिने र भत्किएको अवस्थामा पनि राष्ट्रपति फुत्किने नेताहरुको आशंका थियो ।
त्यसैले माधवकुमार नेपालसँग तत्काल सम्वाद गर्न देउवाले वरिष्ठ नेता पौडेललाई भनेका थिए । बुधबार दिउँसो नेता पौडेलले आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पुगेर अध्यक्ष नेपालसँग छलफल समेत गरेका छन् ।
तर पौडेलले खोजेजस्तो राष्ट्रपतिमा कांग्रेसलाई सघाउने वचन अध्यक्ष नेपालले दिएनन् । एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार अध्यक्ष नेपाल आफैं राष्ट्रपति हुन इच्छुक छन् । तर ओलीले प्रस्तावअनुसार एमालेमा पार्टी विलय गरेर नभई कांग्रेसको पनि समर्थन जुटाएर राष्ट्रपति हुने उनको चाहना छ ।
एकीकृत समाजवादीको सचिवालय बैठकले पनि राष्ट्रपतिका लागि पहल गर्ने निर्णय गरेको छ ।




















