काठमाडौं, असार १३-
सरकारले नेपाली श्रम बजारमा रोजगारीको ठूलो सम्भावना भएका क्षेत्रको माग र आपूर्तिको अवस्था विश्लेषण गर्न, श्रम शक्तिको सीपको अ वस्था पहिचान गर्दै स्वदेशमा नै सम्भावनायुक्त क्षेत्रमा युवाको आकर्षण बढाउने नीति बनाउन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । आगामी असार १५ र १६ गते आयोजना हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
नेपालमा कुन क्षेत्रमा रोजगारी छ र रोजगारी रहेका क्षेत्र र बेरोजगारहरुलाई जोड्ने नीति बनाउन पनि सम्मेलनले सहयोग गर्ने अपेक्षाका साथ सरकारले सम्मेलन आयोजना गर्न लागेको हो । विगत एक बर्षयता सरकारले स्वदेशमा रोजगारी सिर्जनामा आफुलाई केन्द्रीत गरेको भन्दै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नीतिगत रुपमा मिलाउन आवश्यक विषयमा सम्मेलनबाट सुझाव प्राप्त हुने विश्वास प्रकट गरे । मन्त्री विष्टले नेपालमा कतिपय सीपमूलक काममा गैह्र नेपाली नागरिकले काम गरिरहेको सन्दर्भमा सम्मेलनले त्यस्ता सम्भावित क्षेत्रको पहिचान गर्दै नयाँ योजना बनाउन सरकारलाई सहयो पुग्ने बताए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा प्रविधिक सत्र अन्तर्गत कार्यपत्र प्रस्तुती र छलफल हुनेछ भनें सीप तथा उद्यमको प्रदर्शनी पनि राखिएको छ । कार्यपत्र प्रस्तुती अन्तर्गत दुई दिनमा ९ वटा विषयमा करिव ५० जना विषयगत विज्ञको टोलीले प्रस्तुती, टिप्पणी तथा सहजिकरणको व्यववस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
यसैगरी सम्मेलनमा नमुना उद्यमीहरुको प्रदर्शनी कक्ष पनि रहने छ जसमा विभिन्न क्षेत्रका उद्योगी समुह, उद्यमीको सञ्जाल तथा व्यवसायीहरुले आफ्ना क्षेत्रका व्यवसाय विस्तारको सम्भावना, सीप तथा क्षमता विकासको आवश्यकता लगायतका विषयमा प्रदर्शनी गर्ने जनाइएको छ ।
कार्यक्रममा एक सय भन्दा बढी क्षेत्र तथा विधाबाट प्रतिनिधिमूलक रुपमा सहभागिहरु हुने मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले रक्तसञ्चार गराएको छ
मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मन्त्रालयले लामो समयको तयारी गरेको भन्दै सो कार्यक्रमले कम्तीमा नेपालमा नै रोजगारीको सम्भावना छ भनेर रक्तसञ्चार गर्ने काम गरेको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हाल साढे पाँच हजारवटा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा छिटपुट रुपमा गुनासो आउनु स्वभाविक रहेको भन्दै तिनलाई सुधार्न मन्त्रालयका तर्फबाट प्रयास गरिसकिएको बताए ।