काठमाडौं—नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले वामगठबन्धन छाडेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नु र त्यसमा सहभागी हुनु पार्टीको भुल भएको बताएका छन्।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै गिरीले पार्टीको निर्वाचन पराजयको मुख्य कारण भूराजनीति नभई आन्तरिक कमजोरी रहेको बताए। नेतामुखी कार्यशैली, संगठन र पद्दति कमजोर हुनु, जनसंगठन प्रभावहीन हुनु तथा डिजिटल क्षेत्रको परिवर्तनलाई आत्मसात् गर्न नसक्नुजस्ता कारणले पार्टी कमजोर बनेको उनको भनाइ छ।
गिरीले नेतृत्वको अभिव्यक्ति र कार्यशैली जनतामैत्री बन्न नसक्दा असन्तुष्टि बढेको तथा सरकारमा रहँदा शिक्षक, कर्मचारी, किसान, भूमिहीन र युवाको अपेक्षाअनुसार काम हुन नसकेको बताए।
वामगठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेपछि संविधान संशोधनको उद्देश्य बताइए पनि त्यसका लागि आवश्यक काम अघि बढ्न नसकेको भन्दै उनले उक्त निर्णयको औचित्यमाथि प्रश्न उठाए। साथै, संसद् पुनःस्थापनाको मुद्दा उठाउनु अहिले औचित्यहीन र ‘भद्दा मजाक’ बन्ने उनको तर्क छ।
गिरीले पार्टीको संगठनात्मक, नीतिगत र कार्यशैलीगत कमजोरीको गम्भीर समीक्षा गर्दै पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न नेतृत्व तयार हुनुपर्ने बताए।


