काठमाडौं,२५ चैत। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले आजबाट सो पार्टी परित्याग गर्न लाग्नुभएको छ । न्यौपानेले आज पत्रकार सम्मेलन गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको औचित्य सकिएको निश्कर्षसिहित सो पार्टी परित्याग गर्न लाग्नुभएको हो ।

पार्टीविरुद्ध गतिविधि गरेको भन्दै केन्द्रीय सचिवालयको बैठकले स्पष्टीकरण सोधेपछि बरिष्ठ नेता न्यौपानेले आज पत्रकार सम्मेलन गरी सो पार्टीको कम्युनिष्ट र राष्ट्र्यिताबिरोधी हर्कतको भण्डाफोर गर्न लाग्नुभएको हो ।

न्यौपानेले अनामनगर पूर्वी गेट नजिकै जिफन्ट स्कूल बिल्डिङमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ । पार्टी नेतृत्वसँग असन्तुष्ट नेता न्यौपाने पछिल्लो समय एमालेसँग निरन्तर संवादमा हुनुहुन्छ । उहाँले पार्टीमा समेत नेकपा एकीकृत समाजवादीको औचित्य सकिएकोले एमालेसँग एकताको वकालत गर्दै आउनु भएको थियो ।

न्यौपानेले पत्रकार सम्मेलनमा पार्टीले सोधेको स्पष्टीकरण र आगामी कदमबारे जानकारी दिने जनाइएको छ । न्यौपानेसहित हालै पार्टी छाडनुभएका उपाध्यक्ष केदार न्यौपाने र चूडामणि जंगली पनि एमालेसँग छलफलमा हुनुहुन्छ । अन्य असन्तुष्ट नेता कार्यकर्तासहित उहाँहरु एमालेमा फर्किने तयारी भइरहेको बुझिएको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपालको पछिल्लो गतिविधिप्रति सम्मानित नेता झलनाथ खनालसमेत असन्तुष्ट हुनुहुन्छ । उहाँले कम्युनिष्ट पार्टी कमजोर बनाउन माधव नेपालको भूमिका देखिएको भन्दै अब के गर्ने भन्नेबारेमा केन्द्रीय तहका नेताहरूसँग परामर्श थाल्नुभएको छ ।

खनालले कुनै पनि बेला राष्ट्रियता र वामपन्थी आन्दोलनको पक्षमा कदम चाल्नुपर्ने हुनसक्छ भन्दै आफूनिकट नेता कार्यकर्ताहरूलाई तयार रहन भनिसक्नु भएको छ । नेकपा एकीकृत समाजवादीभित्र ठूलो समुह बिद्रोहको तयारीमा रहेको छ । जनता टाइम्सबाट