पथरी, २५ चैत्र । नेपाल कम्युनिष्ट पार्टी एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत मोरङको पथरी शनिश्चरे नगर कमिटीले नगरस्थित सहकारी अभियन्ता र बुद्धिजीवीमाझ आज शनिबार मध्यान्ह अन्तरसंवाद कार्यक्रम आयोजना गर्नुका साथै बाम–प्रजातान्त्रिक आन्दोलनसँग सम्बद्ध ज्येष्ठ नागरिक सम्मान अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथिको रूपमा सहभागी प्राडा बद्रीविशाल पोखरेलले सम्बोधन गर्नुभएको कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य सूर्यबहादुर श्रेष्ठ, केन्द्रीय वन तथा वातावरण विभाग सदस्य अर्जुन क्षेत्री, पार्टीको कोशी प्रदेश कमिटी सदस्यहरू मोहनप्रसाद तुम्बापो, दिपिलकुमार राई, पार्टी मोरङ जिल्ला कमिटी सदस्यहरू पार्थबहादुर बुढाथोकी, भगतचन्द्र थपलिया, जीवन खतिवडा, राजु तिम्सिना, दुर्गा दंगाल सुवेदी, निर्मला गदाल विश्वकर्मा, मुक्ति समाज नेपाल केन्द्रीय सदस्य भद्रमान विश्वकर्मा, जिल्ला सल्लाहकार सदस्य भोलाप्रसाद रिजाललगायत दर्जनौँ नेतृत्वको आतिथ्यता रहेको थियो ।
कमिटीका सचिव भीमकुमार राईको सञ्चालन र अध्यक्ष रमेश दाहालको अध्यक्षता सम्पन्न कार्यक्रमको टिपोर्ट लेखनकर्ताको रूपमा एलबी भण्डारी, रोशन बुढाथोकी र फौद खड्काले प्राप्त रायसुझावलाई लिपिबद्ध गर्नुभएको थियो ।
उपाध्यक्ष प्रकाशबहादुर कार्कीले मन्तव्यमार्फत सहभागी सबैलाई स्वागत सम्मान गर्नुभएको उक्त कार्यक्रममार्फत कार्यव्यवस्थापनमा राजु तिम्सिना, दुर्गा दंगाल सुवेदी, नोवलकिशोर खनालले सहजीकरण गर्नुभएको थियो । झण्डै साढे ५ घण्टा लामो चलेको यो कार्यक्रममार्फत पस्किएका कतिपय विषयवस्तुले आफूलाई समय बितेको पत्तैनभएको सहभागी नेतृ सुवेदीले बताउनुभयो । आँखाभरि समृद्धिको सपना लिएर सम्मानका लागि सहभागी अभिभावकहरूले अभिनन्दित हुन पाएकोमा व्यक्त गर्नुभएको खुशीप्रति आफू भावुक भएको उहाँले थप्नुभयो ।
नगरस्थित सहकारी अभियन्ता र बुद्धिजीवीमाझ अन्तरसंवाद कार्यक्रम सम्पन्न भएलगत्तै बाम–प्रजातान्त्रिक आन्दोलनसँग सम्बद्ध ५० जना अग्रज ज्येष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन अर्पण गरिएको थियो । समाज निर्माणका अगुवा स्थानीय बामपन्थी आन्दोलनका सर्जकलाई सम्मान गर्नुहुँदै प्रमुख अतिथि प्राडा बद्रीविशाल पोखरेलले उठेका विषयवस्तुमा आधारित भएर प्रस्टोक्ति सहित प्रशिक्षण गर्नुभएको थियो ।





















