काठमाडौं,२५ चैत । नेकपा एमालेको तर्फबाट तनहुँ–१ को उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले व्यक्तिगत रूपमा आफ्नो कुनै लोभ लालच नभएको बताउनुभएको छ । 

शनिबार बिहान आँबुखैरेनीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै खनालले देश र नागरिकको सेवा गर्न आफू चुनाव लड्न आएको बताउनुभयो । देशमा रहेको विकृति र विसङ्गति सुधारको लागि आफूले प्रतिनिधि सभामा जान खोजेको उहाँले प्रष्ट पार्नुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई लक्षित गर्दै खनालले आफ्नो परिवार समेत मिलाउन नसक्नेले देशको लागि केही गर्न नसक्ने बताउनुभयो । उहाँको आदर्श खोक्रो आदर्श मात्र भएको उहाँले बताउनुभयो । ‘आफ्नो परिवार नै विक्षिप्त पारेर हिँडेकाहरू अहिले हामीलाई आदर्शको पाठ सिकाउँदै छन्’, खनालले भन्नुभयो । 

सबैलाई गाली गर्ने र हामी मात्रै ठिक छौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले १५ वर्षसम्म डलर कमाएर परिवार सम्भ्रान्त पारेर फेरी नेपालका राजनीतिक दल र नेतालाई गाली गर्न आएका खनालले बताउनुभयो । आफूलाई नयाँ पार्टीका नयाँ भन्नेहरूका एक एक व्यवहार आफूलाई थाहा भएको खनालले बताउनुभयो । 

नयाँ भनिएकाहरूले इतिहास नबुझिसकेका युवा र कलिला नानी बाबुहरूलाई भड्काउने राजनीति गरेका उहाँले बताउनुभयो । यसले आफ्नो मुटु चसक्क भएको उहाँले सुनाउनुभयो । नेपाल देश र नागरिक स्वाभिमानको लागि आफूले काम गर्दै गर्दा अहिले अहिले नयाँ भनिएकाहरू डलर कमाएर बसेका उहाँले बताउनुभयो । 

विज्ञ भनिएका उम्मेदवारसँग आफू आर्थिक, राजनीतिक, सामाजिक लगायत हरेक क्षेत्रमा आफू बहस गर्न तयार रहेको उहाँले प्रष्ट पार्नुभयो । आफूले देशमा शान्ति स्थापना र सुशासन कायम गर्नको लागि ज्यान जोखिममा राखेर काम गरेको खनालले सुनाउनुभयो ।