काठमाडौं,३० बैशाख  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा ब्युँताउनुपर्ने बताउनुभएकाे छ ।

पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले राजावादीहरुले टाउको उठाउन थालेकाले कम्युनिष्टहरुको जिम्मेवारी बढ्दै गएको बताउनुभयाे ।

नेकपा एमालेका अध्यक्ष केपी ओली सच्चिए नेकपा ब्युँताउन आफू रहेको रहेको उहाँले बताउनुभयाे । 'नेकपा ब्युँताउन अहिले पनि हामी तयार छाैं, माओवादीले माओवादी नाम छाेड्नुपर्‍याे, नेकपाकाे वैचारिक मार्गमा आउनुपर्‍याे, त्यसका लागि केपी ओली तयार छैनन, एमाले भनेकाे अरुथाेक हाेइन केपी ओली हाे'- नेपालले भन्नुभयाे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अहिलेसम्म सरकारले राम्रो काम गरेको र पार्टीको समर्थन रहेको भन्दै अध्यक्ष नेपालले गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता नरहेको बताउनुभयाे । यस प्रकरणमा सरकारले खुट्टा कमाउन नहुने भन्दै उहाँले जुनसुकै ओहोदामा रहेका व्यक्ति भएपनि उन्मुक्ति दिन नहुने बताउनुभयो ।

सत्तामा बसेका माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको अध्यक्ष नेपालले बताउनुभयो । देशद्रोही काममा कम्युनिष्ट भनिएका व्यक्तिहरु नै संलग्न हुनु लाजमर्दाे कुरा भएको उहाँले बताउनुभयाे ।