काठमाडौं,१९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस वर्तमानको समस्या हल गर्ने र राम्रो भविष्य दिने संगठन भएको बताउनुभएको छ ।
प्रेस युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले अहिले नेपालको राजनीतिमा कुशासन, भ्रष्टाचार र बेथिति मौलाएको बताउनुभयो । नेपालको राजनीतिले नेपाली जनतालाई आशा जगाउन नसक्नु अहिलेको प्रमुख चुनौती भएको थापाको भनाइ छ । ‘यो समस्याको हल कांग्रेसले गर्न सकिरहेको छैन’, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसले अहिले जनताको विश्वास गुमाएको थापाको भनाइ छ । कांग्रेस ठुलो पार्टी हुँदा पनि आफ्नै कार्यकर्ताले विश्वास नगरेको उहाँले बताउनुभयो । त्यसैले भोटको भन्दा पनि विश्वासको चिन्ता गर्नुपर्ने थापाले बताउनुभयो । ‘भोट पाएको अवस्था छ, विश्वास गुमाएको अवस्था छ’, उहाँले भन्नुभयो ।
कांग्रेस आज जस्तो छ त्यस्तै अवस्थामा अघि बढेर जनविश्वास फर्काउन नसक्ने उहाँले दाबी गर्नुभयो । ‘विश्वास फर्काउन कांग्रेस बदलिनु पर्छ’, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस पार्टी सभापतिको लहडमा चलेको थापाले बताउनुभयो । उहाँलाई मन लाग्दा कुनै पनि कुरा हुने र मन नलाग्दा केही पनि नहुने अवस्था रहेको थापाले बताउनुभयो ।
केही दिनको बिचमा नेपाली कांग्रेस सहभागी सरकारले केही गम्भीर, महत्त्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने काम गरेको थापाले बताउनुभयो । सरकारले गरेको नागरिकता विधेयक, आम माफीको विषय, सांसद् विकास कोष, प्रदेश सरकारमा कांग्रेसको सहभागिता र प्रदेशका मन्त्रालय फुटाउने लगायतका विषयमा नेपाली कांग्रेसले कुनै आधिकारिक निर्णय नगरको उहाँले प्रष्ट पार्नुभयो । ‘यी सबै विषयका सन्दर्भमा नेपाली पार्टी सभापति मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णय हो, यो विषय मैले तपाईँहरू भन्दा पनि पछाडि थाहा पाएको हो’, उहाँले भन्नुभयो ।
यो परिपाटी विगत एक डेढ वर्षदेखि चल्दै आएको थापाले बताउनुभयो । आफूले यो सहँदै आएको तर अब नसहने उहाँले बताउनुभयो । पार्टीको आधारभूत मान्यतासँग बाझिने गरी गरिएको निर्णयको भारी अब बोक्न नसक्ने थापाले बताउनुभयो ।
पार्टी सभापतिले एक पछि अर्को गलत निर्णय गर्दै गएको उहाँले बताउनुभयो । यी गलत निर्णयको भारीले पार्टी थिचिने अवस्थामा पुगेको उहाँले बताउनुभयो । यसलाई अन्त्य गर्न अब बदलिनै पर्ने र त्यसको सुरुवात आफैँले गर्ने थापाले बताउनुभयो ।
अहिले नेपाली कांग्रेसलाई नवधनाढ्यले बिगारेका थापाले बताउनुभयो । चुनाव लड्न पैसा चाहिने अहिलेको परिपाटीले पार्टीमा धनी मानिसको हालीमुहाली बढेको उहाँले बताउनुभयो । त्यसले अब नयाँ निर्वाचन पद्धतिको बारेमा पनि सोच्नु पर्ने उहाँको सुझाव छ । यसले कांग्रेस मात्र होइन, अन्य पार्टीलाई सुधार्न पनि सहयोग गर्ने थापाको भनाइ छ ।




















