काठमाडाैं,१४ असार  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा एकता सफल हुन नसकेकाे स्मरण गर्नुभएकाे छ ।

जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीकाे अवसरमा मदन भण्डारी फाउण्डेसनले बिहीबार गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले नेकपा एकता सफल नभएपनि आन्दाेलन जाेगाउन भने आफूहरु सफल भएकाे बताउनुभयाे ।

350140421_285040647418147_3586997781776522695_nनेकपा एमालेकै आन्दोलनका कारण देशमा परिवर्तन सम्भव भएकाे पनि उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'हामीले काेडीनेसन केन्द्र, नेकपा माले, नेकपा एमाले भन्याैं, फेरि एक समयमा भइहाल्छकि भनेर विभिन्न तत्वहरुलाई लिएर आएर नेकपा बनाऔं, त्यसबाट नराम्ररी भित्तामा हाम्राे नाक ठाेक्किएजस्ताे, निधार ठाेक्किएजस्ताे भयाे, फेरि हामी नेकपा एमालेमा फर्कियाैं,  यही हाे माैका भनेर हाम्रा विरुद्ध हमला भए, त्यसकाे हामीले उपयुक्त ढंगले, द‍ृढतापूर्वक प्रतिवाद गर्‍याैं र हाम्राे आन्दाेलनलाई फेरि पनि जाेगाऔं ।'

मदन भण्डारीले प्रतिपादन गर्नुभएकाे जनताकाे बहुदलीय जनवादकै बलमा विराेधीहरुकाे हमला ताेड्न एमाले सफल भएकाे उहाँले बताउनुभयाे । 'जबजकाे असाधारण लड्ने क्षमता, वैचारिक क्षमता, दार्सनिक क्षमता, सैद्धान्तिक क्षमता, रणनीतिक क्षमता, कार्यनितिक क्षमता, रणकाैशलता त्यस कुरालाई फ्लाे गरेर हामी जाेगियाैं, हाम्राे आन्दाेलन जाेगियाे र मजबुद भएर अगाडि बढेकाे छ'- अध्यक्ष ओलीले भन्नुभयाे ।

एउटा माेर्चामा हारियाे भन्दैमा महान उद्देश्य भइँदैन भन्ने मदन भण्डारीकाे विचार बाेकेर एमाले देश र जनताका लागि काम गर्दै अगाडि बढिरहेकाे उहाँले बताउनुभयाे । एमाले अझैपनि पराजित नभएको अध्यक्ष ओलीले स्पष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे - 'आन्दाेलनमा कहिले कहिले अप्ठ्यारा हुन्छन्, माेर्चाहरुकाे हारले युद्धकाे हार हुँदैन, एउटा माेर्चामा हारियाे भन्दैमा, महान् उद्देश्य सही उद्देश्य र सत्य पराजित भएकाे हुँदैन, त्यसकारण हामी पराजित भएका छैनाैं, हामी सत्यमा उभिएर समयानुकूल ढंगले नयाँ ढंगले अगाडि बढ्नुपर्छ भनेर चिन्तन धाराकाे नेतृत्व गरेर एक जना व्यक्ति निस्कनुभयाे जसलाई हामी मदन भण्डारी भन्छाैं, जसको आज ७२ औं जन्मजयन्ती, उहाँको अगुवाइमा जुन जनताको बहुदलीय जनवाद आयो ।'

348598494_285041240751421_2235178153840615888_nजबज सत्यमा आधारित सिद्धान्त भएकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'जबज सत्यमा आधारित भएको हुनाले, सत्यप्रति विश्वस्त भएर चल्ने हुनाले यस आधारमा निर्माण भएको छ, आफ्नो देशको परिस्थितिको आधारमा निर्माण भएको छ, तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति त्यसको आधारमा निर्माण भएको छ, वैज्ञानिक दर्शन, वैज्ञानिक सिद्धान्त, मानवतावादी, समतावादी, समाजवादी माननवीय आधारमा यसभित्र पूर्वीय दर्शनको असाधारण हात छ ।' पूर्वीय दर्शन भन्दाबित्तिकै अध्यात्म भन्ने कतिपयकाे बुझाइ रहेकाे भन्दै उहाँले पूर्वीय दर्शन भनेको तथ्यमा आधारित विचारधारा रहेकाे बताउनुभयाे ।

अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलन सफल हुन नसक्ने पनि बताउनुभयाे ।  देश, काल, परिस्थितिअनुसार आन्दोलन अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'कुनैपनि ठाउँ, देश र समाजकाे परिवर्तन अर्काकाे नक्कल गरेर हुँदैन, त्यसकाे आफ्नाे समय परिस्थिति, विशेषता अनुसार, त्यस ठाउँकाे परिवर्तन आफ्नाे माैलिक पाराले हुन्छ, त्यहाँकाे विकास माैलिक पाराले हुन्छ, त्याे यथार्थ हाे, कतिपय ठाउँमा त्यस यथार्थलाई स्वीकार्न नसक्दा, माैलिकताबिना नक्कलकाे बाटाे हिँड्न खाेज्दा, परिस्थितिलाई चिन्न नसक्दा त्यतिबेलाका समस्यालाई सम्बाेधन गर्न नसक्दा आन्दाेलनहरु असफल हुन्छन् ।'

देशकाे परिस्थिति अनुसार आफूलाई चलाउनुपर्ने भन्दै अध्यक्ष ओलीले मुडे बलले केही नहुने प्रष्ट पार्नुभयाे । 'हाम्राे समय, देश, देशकाे परिस्थिति कस्ताे छ, त्यसअनुसार आफूलाई चलाउनुपर्छ, न्यायका निम्तिकाे आन्दाेलन पनि मुडे बलले चलाउन खाेजियाे भने सही ढंगले अगाडि बढ्न सक्दैन, त्यसकारण मुठे बलले हाेइन, समय परिस्थिति अनुसार अगाडि बढ्नुपर्छ ।'