चितवन,१५  असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकाले नै ५ महिने नाकाबन्दीले गलाउन नसकेको बताउनुभएकाे छ ।

राष्ट्रिय धान दिवसकाे अवसरमा शुक्रबार बिहान चितवनकाे भरतपुरस्थित गेष्ठ हाउस चौरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि नै भएको बताउनुभयाे ।

देशलाई आत्मनिर्भर बनाउने कुरा कृषिमा मुख्य रुपमा भर पर्ने भन्दै उहाँले यदि खान लाउन पुग्ने राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने हाे भने कुनै पनि आर्थिक मन्दीले धेरै डरलाग्दाे प्रभाव पार्न नसक्ने बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'हामीलाई ५ महिना नाकाबन्दी लाग्याे, ५ महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्याे भने - याे कृषि प्रधान देश भएकाले हाे, हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ, तर हामीलाई खान पुग्ने करिब आधा अन्न, सब्जी, माछा, मासु र दूध यही उत्पादन हुन्छ, त्यसो हुनाले त्यस नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन ।'

कृषिलाई प्रविधिसँग जाेड्न जरुरी भएकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'हाम्राे देश कृषिमा आत्मनिर्भर भयाे भने अरु क्षेत्रमा आत्मनिर्भरता बढ्छ, कृषिमा आधुनिकीकरण भयाे भने कृषिमा आधारित उद्याेग चल्छन्, कुनै पनि कुरा फ्याँक्नु हुँदैन, कहिले कहिले हामीले दूध फ्याँक्छाैं, त्यसलाई चिजमा परिणत गर्ने हाे भने फाइदा हुन्छ, त्यसका लागि प्रविधि चाहिन्छ, हाम्रा उत्पादन, कृषि र उत्पादनलाई प्रविधिसँग जाेड्न जरुरी छ ।'

उत्पादन, उत्पादकत्व वृद्धि, उत्पादनकाे रुपान्तरण, त्यसकाे स्थायित्वमा ध्यान दिनुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'जसले कृषितर्फकाे आकर्षणलाई बढाउँछ, कृषि उपजलाई जिविकामुखी मात्र हाेइन आम्दानीमुखी बनाउछ, आम्दानी त्यसबाट हुन सक्छ ।'

सबैले कृषिकाे महत्व बुझ्न जरुरी रहेकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे । नेपालमा कृषिकाे आधुनिकरण र व्यवसायिकीकरण गर्न जरुरी रहेकाे उहाँले बताउनुभयाे । विगतमा पारिवारिक रुपमा धेरै सदस्य भएका कारण पशुपालन र कृषि सँगै लैजाने अवस्था भएपनि अहिले परिवार सानाे हुने, भएका विदेशीतिर पलायन हुने र कृषि पेसातिर आकर्षण कम हुने अवस्था रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

उहाँले अहिलेकाे कृषिकाे सहकार्य, सहकारी अथवा सामूहिक प्रणालीबाट व्यापक रुपमा अगाडि बढाउन जरुरी रहेकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'यसका लागि यहीँ कृषि विश्वविद्यालय छ, आजकाे आवश्यकता अनुसार कृषिकाे कसरी आधुनिकीकरण, व्यवसायिकीकरण, नविकरण, मेसिनीकरण गर्न सकिन्छ भन्ने अध्ययन गर्न सकिन्छ ।'

आज असार १५ काे दिन सबैलाई खेतमा जान र धान राेप्न जान उहाँले अनुराेध पनि गर्नुभयाे । जसले जुन व्यवसाय गरेपनि सबैलाई अत्यावश्यक भनेकाे खानेकुरा भएकाे भन्दै अध्यक्ष ओलीले त्याे कसरी फल्छ भन्ने बुझ्न कस्नुपर्ने बताउनुभयाे ।