काठमाडाैं,५ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिकाे शुक्रबारकाे बाेल्दै नेता बस्नेतले सय केजी सुन काण्डमा गृहमन्त्री श्रेष्ठकाे पनि नाम जाेडिएकाले उहाँले राजीनामा दिनुपर्ने बताउनुभयाे । उहाँले सुन काण्डमा गृहमन्त्रीकै नाम जाेडिएकाले कांग्रेसले उहाँकाे राजीनामा माग्नुपर्ने बताउनुभयाे ।
सुशासनका ठूला कुरा गर्ने गृहमन्त्री श्रेष्ठकाे नाम सुनकाण्डमा जाेडिनु गम्भीर भएकाे भन्दै उहाँले यस विषयमा कांग्रेस बाेल्ने कि नबाेल्ने भन्दै प्रश्न गर्नुभयाे । 'धेरै ठूला-ठूला कुरा गर्नुहुन्थ्याे नारायणकाजी श्रेष्ठ, आज सुन तस्करकाे कुरा आएकाे छ, १५० केजी सुन समातिएकाे कुरा आएकाे छ, गृहमन्त्रीकाे नाम आएकाे छ, माओवादी नेता कृष्णबहादुर महराकाे नाम आएकाे छ, याे विषयमा हाम्रा नेताले बाेल्ने कि नबाेल्ने ? कांग्रेसले बाेल्ने कि नबाेल्ने ? हाम्राे साथीहरुकाे नाम आए चर्काेचर्काे कुरा गर्नुहुन्छ, हाम्रै केही साथी गृहमन्त्रीकाेमा जानुभएकाे थियाे'- नेता बस्नेतले भन्नुभयाे ।
उहाँले गृहमन्त्री श्रेष्ठकाे राजीनामा माग्न जान नेताहरुलाई प्रस्ताव गर्नुभयाे । 'आज म पनि जान्छु, जाऔं न त नारायणकाजीकाे नाम आइसकेकाे छ, उहाँकाे विषयमा राजीनामा माग्न जाऔं, काे-काे मानिस सुन तस्करीमा परेका छन्, याे छानबिन हुनुपर्याे, ३ महिनाभित्र २९ पटक सुन आएकाे छ नेपालमा सय-सय केजीकाे दरले'- नेता बस्नेतले भन्नुभयाे ।
सरकारले कुनै उपलब्धिमूलक काम गर्न नसकेकाे भन्दै उहाँले सरकारमा रहने कि नरहने भन्ने कांग्रेले साेच्नुपर्ने बेला आएकाे बताउनुभयाे । 'देशकाे स्थिति नाजुक छ, अर्थतन्त्र खस्केकाे छ, हामीसँग पैसा छैन राेजगार छैन हामीले सरकारकाे ध्यानाकर्षण गर्ने कि नगर्ने ? युवा पलायन राेक्न सरकारले के-के कार्यक्रम ल्याउँछ ? देशमा उद्याेग कलकारखाना बन्द हुने स्थिति छ त्याे खाेलेर राेजगार दिलाउन कांग्रेसले सरकारकाे ध्यानाकर्षण गर्नुपर्छ'- नेता बस्नेतले भन्नुभयाे ।
लम्पी स्किन राेगले हजाराैं पशु चाैपाया मर्दा पनि सरकार गम्भीर नभएकाे बताउँदै उहाँले भन्नुभयाे - 'यसबारे सरकारले बाेल्ने कि नबाेल्ने ? त्यसकाे खाेप ल्याउने कि नल्याउने ? कालाेबजारी बढेकाे छ राेक्ने कि नराेक्ने ? मूल्यवृद्धि बढेकाे छ यसमा सरकारकाे ध्यानाकर्षण हुनुपर्छ, सरकारकाे जिराे पर्फमेन्स छ, सरकारले पर्फमेन्स दिन सकेकाे छैन, हामीले साेच्नुपर्ने बेला आएकाे छ याे सरकारमा हामी सहभागी भएर जाने कि नजाने ।'




















