अनि नि एमालेले कांग्रेसको सिको गरेर बैठकको लाइभ गर्छ भनेर भन्नुभएछ । विश्वप्रकाश जत्तिको मान्छेले यति कुरा त बुझेको हुनु पर्ने एमालेले कांग्रेसको सिको गर्न जरुरी छैन ।
- यसिमा महत
काठमाडौं,१४ साउन । शनिबार मात्र सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका समवय नेतालाई ‘दूनामा खाएर कुनामा बस्ने’ भन्नु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका अघि आफूले देउवासंगजस्तै प्रश्न गर्न चुनौती पनि दिनु भएको छ । त्यतिमात्र कहाँ हो र ? उहाँले कांग्रेसको सिको गर्दै एमालेले पनि बैठकको प्रत्यक्ष प्रशारण गर्छ भनेर भविश्यवाणी पनि गर्नुभएको छ ।
कांग्रेसका दुईबीस नाघेका तन्नेरी नेता ज्यू ! दुनियाँको नजर एमालेका युवा नेतातिर मोड्दैमा तपाईहरूको लाज ढाकिॅदैन । अरुको नजर अन्ततिर लगाइदिएर तपाईको नाङ्गो आङ ढाकिने होइन भन्ने बुझ्न सक्नु भएन जस्तो छ । आफ्नो लाज छोप्न त तपाईको आङमा वस्त्र हुनु पर्यो नि ! आफूहरू दूनामा खाएर कुनामा बसेको बैठक लाईभ भएपछि दुनियाँले देखेका छन् भन्ने हेक्का छैन ? अनि एमालेका युवा नेतालाई ललकारेर तपाईहरूको बैठकको त्यो निरीहताको दृश्य ‘डिलिट’ हुन्छ र ?
अनि देउवासंग तपाईहरूले के प्रश्न गर्नुभयो दुनियाँ जानकार छ । परिणाम के निस्क्यो दुनियाँ जानकार छ । अनि एमालेका युवा नेताले अध्यक्ष ओलीलाई प्रश्न गरे, गरेनन्, गर्न सक्छन् सक्दैनन् भनेर तपाईलाई किन प्रमाण पेश गर्नु पर्यो ? तपाईहरू एमालेका नेताबाट संस्कार सिक्न चाहनुहुन्छ तर एमालेका नेताले तपाईहरूलाई संस्कार सिकाउने ठेक्का लिएको छैन भन्ने हेक्का होस् । बाहिर जति नै डुक्रे पनि भित्रभित्रै एमालेसंग कतिको त्रासमा हुनुहुन्छ सबैले देखेका छन् । बरु भन्नोस २०१५ साल र २०४७ सालको निर्वाचनबाहेक काँग्रेस आफ्नै बलबुतामा एमालेभन्दा कहिले अब्बल हुन सकेको छ ?
अनि नि एमालेले कांग्रेसको सिको गरेर बैठकको लाइभ गर्छ भनेर भन्नुभएछ । विश्वप्रकाश जत्तिको मान्छेले यति कुरा त बुझेको हुनु पर्ने एमालेले कांग्रेसको सिको गर्न जरुरी छैन । बरु कांग्रेसले एमालेको बेलावखत सिको गर्दै आएको छ । काँग्रेसले गरेको बैठकको लाइभ होइन, भाषणको प्रतिस्पर्धा र दुनियाँका अघि नेतृत्वको चाप्लुसीको पराकाष्ठा हो । एमाले लेनिनवादी संगठनात्मक सिद्धान्तलाई अंगिकार गरेको पार्टी हो भन्ने विश्वप्रकाशले नबुझेकै हो त ?
लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार पार्टीका बैठक लाइभ गरिॅदैनन् । बैठकका एजेण्डा पहिले नै तय गरिएका हुन्छन् । जिम्मेवारी र आचरणका विषयमा घम्साघम्सी आलोचना र आत्मालोचना हुन्छ । बाहिर निश्कदाँ पार्टीका सबै सदस्यको एउटै बोली र ब्यवहार हुन्छन् । नेतृत्वलाई सार्वजनिकरूपमा खुइल्याएर पार्टी अघि बढ्न सक्दैन भन्ने एमालेका साधारण सदस्यसमेतले बुझेका छन् । हरेक सदस्यले आ–आफ्नो कमिटीमा आफ्ना असन्तुष्टि वा फरक मत राख्न पाउॅछन् । ती असन्तुष्टि र फरक मत कमिटी प्रणालीबाटै तलदेखि माथिसम्म आउँछन् । केन्द्रका फरक मत पनि निर्णय गरेरै कमिटी प्रणालीमार्फत नै वडा र टोल कमिटीसम्म छलफलमा लाने एमालेको प्रचलन छ ।
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्ने । अल्पमतलाई सम्मान र बहुमतको निर्णय लागू गर्ने लोकतान्त्रिक विधि, पद्धती भएको पार्टीलाई कांग्रेसजस्तो न नीति न त कुनै पद्धतीभएको ल्याङ्फ्याङे पार्टीको नेताले ताल ठोक्न सुहाउँछ । विश्वप्रकाशलगायत कांग्रेसका सबै युवा नेतालाई मेरो निःशुल्क सुझाव छ – एमालेबाट सिक्नोस, एमालेलाई सिकाउन नखोज्नोस् । एमाले नेपालका सबै पार्टीभन्दा नीति, विधि, पद्धतीमा दुईकदम अगाडि नै रहेको पार्टी हो । बरु कांग्रेस वा अरु कुनै पार्टीका युवाहरूलाई पार्टी व्यवस्थापनबारे तालिम दिनु परे एमाले अध्यक्षलाई निवेदन दिनुहोस् एमालेका महेश बर्तौला, महेश बस्नेतजस्ता नेता यसमा पोख्त हुनुहुन्छ । जनता टाइम्स बाट




















