विराटचोक,१६ साउन । नेकपा एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका अनेरास्ववियुका पुर्व केन्द्रीय सदस्य ऋषिराज रेग्मीले आफु नेकपा एमालेमै रहने घोषणा गरेका छन् । नेकपा एमाले त्यागेर विगत करिब तीन महिनादेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका रेग्मीले सामाजिक सञ्जाल फेसबुक मार्फत एमालेमै रहने घोषणा गरेका हुन् । 

उनले सोमबार फेसबुकमा लेखेको  यस्तो छ स्टाटस

 मैले २०५२ मा  नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको मावि प्रारम्भिक कमिटीमा आबद्ध भई राजनीतिक यात्रा सुरू गरेको हुँ । अनेरास्ववियुका हरेक तहका कमिटीमा काम गर्दै केन्द्रीय कमिटीमा समेत रहेर जिम्मेवारी सम्हालेको तथा नेकपा एमालेको विद्यार्थी विशेष इलाका कमिटीको सचिव तथा जिल्ला कमिटी अन्तर्गत शिक्षा विभागको सदस्य रहेर काम गरिसकेको छु । २८ वर्ष लामो राजनीतिक यात्रामा विभिन्न समयमा उत्पत्न्न असहज परिस्थिति तथा पार्टी  विभाजनका समयमा समेत नेकपा एमालेको मूलधारबाट विचलित नभई अनवरत रूपमा पार्टीमा कृयाशील भइआएको हुँ । यस सन्दर्भमा पछिल्लो समय पार्टीभित्र केही अवसरवादीहरू प्रवेश गरी हावी भएको तथा इमान्दार भएर पार्टी काममा खटिने कार्यकर्ताहरू पाखा लाग्ने परिस्थिति सिर्जना भयो । यस्ता व्यक्ति तथा प्रवृत्ति विरुद्ध पार्टीमा हाम्रा केही असन्तुष्टिहरू रहेका र पार्टीबाट समयमा यथोचित सम्बोधन हुन नसक्दा म लगायत धेरै कार्यकर्ताहरूमा निराशा छाएको थियो । फलस्वरूप विगत करिब तीन महिनादेखि राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यक्रमहरूमा सहभागी भएको थिएँ तर कुनै कमिटीमा आबद्ध भएको छैन । हाल आएर पार्टीले शुद्धीकरण अभियान सञ्चालन गरी विद्यमान सबैखाले विकृतिहरूको अन्त्य गरी पार्टीलाई वैचारिक तथा नीतिगत बनाउँदै जनभावना अनुसार रुपान्तरण गर्ने सङ्कल्प लिएर अघि बढेको र पार्टीका निष्ठावान कार्यकर्तालाई पार्टी काममा कृयाशील हुन आव्हान गरेको छ । आफूले धेरै दुःख र सङ्घर्ष गरेको पार्टी भएकाले यसप्रतिको अगाध आस्था, निष्ठा र मायाले गर्दा अलग हुन समेत असहज महसुस भइरहेको साथै नेकपा एमालेमा रहेको मेरो पार्टी सदस्यता समेत कायमै रहेको हुँदा आजको मितिबाट आफ्नो प्यारो पार्टी नेकपा एमालेमा नै रहेर सकृय हुने सङ्कल्प गर्दै नेकपा एमालेबाहेक अन्य पार्टीसँग मेरो कुनै आबद्धता नरहेको जानकारी गराउँदछु  ।  - ऋषिराज रेग्मी