काठमाडौं,१६ साउन । सर्लाहीका पूर्वसांसद एवं तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमा फर्किएका छन् ।
सोमबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर उनी मूलघर फर्किएको एमाले सर्लाहीका नेता चुँडामणि वाग्लेले बताए । नेता उप्रेती सर्लाहीका एमाले नेताहरू हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग बालकोट पुगेका थिए ।
तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उनी २०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको दाबेदार थिए । त्यसैबेला एमालेले प्रदेशमा टिकट दिएको थियो ।
त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उनी सर्लाही ३ (क) बाट प्रदेशसभामा विजयी भए । गत मंसिर ४ मा उनी नेकपा एसबाट उठेपनि पराजित भएका थिए । गठबन्धनबाट टिकट पाएकोमा माओवादीका बागी जवाहरलाल कुशवाहासँग हारेपछि उनी एमालेसँग नजिकिएका थिए ।
नेकपा एमाले छोडेर दुईवर्ष अघि माधव नेपालको पार्टीमा गएका पदाधिकारी तहका मुल घर फर्किने चर्चा चलिरहेकै बेला विभिन्न जिल्लाका अध्यक्षहरुले यसकोे अगुवाई गर्दै नेकपा एमालेमा फर्किरहेका छन् ।
पार्टीका तेस्रो बरियाताका नेता मुकुन्द नेउपाने,बरिष्ठ उपाध्यक्ष केदार नेउपाने,केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज भागवत विश्वासी,स्थायी कमिटी सदस्य चुरामणी जंगली,पार्टी केन्द्रीय सदस्य युवा फाँट प्रमुख एवं पूर्व स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसी महिना दिन अघि एमालेमा फर्किएपछि यो क्रम थप बढ्दै गएको छ ।
माधव नेपालले नेतृत्व गरेको नेकपा कम्यूनिष्ट पार्टी समाजवादी पार्टीले गत मंसिरको निर्वाचनमा राष्ट्रिय पार्टी हुन चाहिने आवश्यक ३ प्रतिशत मत पनि ल्याउन नसकेको,एमालेबाट फूटेको सो समुहले हालसम्म पार्टीको आकार ग्रहण गर्ने लक्षण पनि नदेखिएकोेले राजनीतिक भविष्यका लागि नेकपा एसमा बसिरहनु उचित नभएको एमाले फर्किने नेताहरुले बताएका छन् ।




















