काठमाडाैं,१६ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु इमान्दार बन्न नसकेकाे गुनासाे गर्नुभएकाे छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूहरु जति इमान्दार बन्नुपर्ने त्यति इमान्दार बन्न नसकेको गुनासाे बताउनुभयाे ।  कुनै पनि कामका लागि इमान्दारिता मुख्य कुरा रहेको भन्दै उहाँले सबै व्यक्तिले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभयाे ।

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा आफूलाई मात्रै केन्द्रबिन्दुरमा राख्ने काम नेताहरुबाट भइरहेकाे अध्यक्ष नेपालले बताउनुभयाे । 'हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौं, हामी देश बनाउने भावनाले ओतप्रोत बनेका छैनौं, हामी आफूलाई केन्द्रबिन्दुमा राख्ने गरेका छौं, देश र जनतालाई केन्द्रबिन्दुमा राखेका छैनौं, देश र देशकाे हितलाई केन्द्रबिन्दुमा राखेनाैँ भने, देशमाथि कुनै आँच आयो भने, हाम्रो स्वतन्त्रता, स्वाधिनता, सार्वभाैमसत्ताा र सम्मानमा कुनै किसिमले ठेस लाग्ने काम भयो भने नेपालीहरुलाई त्यो स्वीकार्य हुँदैन'- उहाँले भन्नुभयाे ।

जनतामाथि थिताेमिचाे हुने प्रवृत्ति कायमै रहेकाे भन्दै अध्यक्ष नेपालले त्याे प्रवृत्ति अन्त्य नभए देशले प्रगति गर्न नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'जनतामा भेदभाव, अन्याय-अत्याचार भयो भने, थिचोमिचो भयो भने, अनि एउटाले अर्कोलाई विभिन्न हिसाबले गरिब भनेर हेला गर्ने, दलित भनेर हेला गर्ने, विपन्न भनेर हेला गर्ने यस्तो प्रवृत्ति भयो भने यो देशले प्रगति गर्न सक्दैन ।'

नेपालकाे संविधान विश्वकै उत्कृष्ट भएकाे भन्दै उहाँले कार्यान्वयन पक्ष भने कमजाेर रहेकाे बताउनुभयाे । संविधान कार्यान्वयनका लागि गम्भीर हुनुपर्ने अध्यक्ष नेपालले बताउनुभयाे ।

ध्यमिक शिक्षा परीक्षा एसईई उर्तिण विद्यार्थीकाे सम्मानका लागि गरिएकाे कार्यक्रममा उहाँले इमान्दार र मेहनेती भएर पढ्न सुझाउनुभयाे । ढाँट्न र छलछाम गर्न नहुने भन्दै अध्यक्ष नेपालले इमान्दार र मेहनती भयो भने हरेक क्षेत्रमा सफल हुन सकिने बताउनुभयाे ।