काठमाडौँ,२० साउन । सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्बिरलाई लिएर आफूबारे प्रश्न उठेको भन्दै उपमहासचिव वर्षमान पुनले छानबिन गर्न माग गरेका छन् ।
नेकपा(माओवादी केन्द्र)को राजधानीमा जारी केन्द्रीय कमिटी बैठकमा पुनले छानबिन गर्न माग गरेका हुन् । ‘सरकारले भ्रष्टाचार, सुन प्रकरण लगायत विषयमा थालेको अनुसन्धान कार्यलाई सहयोग गर्न म तयार छु । हामी सबै तयार हुनुपर्छ । तर ममाथि जुन किसिमको गम्भीर आरोप लागेको छ । छानबिन होस्, दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन म तयार छु’, बैठकमा उनले प्रस्टीकरण दिए ।
शनिबार केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको स्पष्टीकरण दिँदै छानबिनबाट दोषी ठहरिए कारबाही भोग्न तयार भएको बताए । गृह जिल्ला रोल्पाकी शहीद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोका मगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्बिरलाई लिएर अनर्थ लगाइएको प्रष्टीकरण पुनले यसअघि नै दिइसकेका थिए ।
यसअघि उपाध्यक्ष महराले विज्ञप्ति जारी गर्दै सुन प्रकरणमा आफू संलग्न नरहेको प्रस्टीकरण दिँदै छानबिन गर्न सरकारसँग आग्रह गरेका थिए । दोषी प्रमाणित भएमा आफू कानुनी कारबाही भोग्न तयार रहेको उनले उल्लेख गरेका थिए । सुन तस्करहरूसँग महराको बाबु–छोरा, पुनको श्रीमान्–श्रीमती संलग्न रहेको सीआइबीको अनुसन्धान फाइलले देखाएको छ ।




















