काठमाडौं,२१ साउन । नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र  सम्मानित नेता झलनाथ खनालबीच मतभेद भएको छ। नेपाल र खनालबीच पार्टीको औचित्य पुष्टि भए, नभएको बारे विवाद देखिएको हो।

पार्टीको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले पुस्टि भएको बताए भने खनालले पार्टी विभाजनको पुस्टि नभएको बताएका थिए। बैठकमा नेताहरुले विद्रोहको पुष्टि गर्न नसक्दा पार्टी क्षयीकरणमा गएको बताएपछि नेपालले त्यस्तो जवाफ दिएका हुन् ।

बैठक समापन गर्दै उनले विद्रोहलाई संख्यासँग तुलना गर्न नुहुने धारणा राखेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

“विद्रोहको औचित्य पुष्टि भएको छ । यसलाई संख्यामा तुलना गर्न हुँदैन । संख्या बढ्न समय लाग्छ ।  अबका दिन हाम्रो सख्या बढाउने काममा केन्दित गर्न तयारी गरिरहेका छौ,” नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने ।

नेपालले पार्टीको शक्ति कमजोर नभएको जवाफ पनि दिए । पार्टीका सम्मानित नेता झलनाथ खनालले नै धारणा राख्नेक्रममा पार्टीको शक्ति र ऊर्जा पहिलेजस्तो नभएको बताएका थिए ।

“हाम्रो शक्ति कमजोर होइन, छैन र यो पार्टीसँग सशक्त वैल्कल्पिक शक्ति बन्ने निकै राम्रो ग्राउन्ड छ । हामीभन्दा विचार र व्यवहारमा अरु को उत्कृष्ट छ रु,” नेपालले प्रश्न गरे । उनले पार्टी संगठनले सडक, संसद् र सरकारमा रहेर काम गर्ने समेत बताए ।