विराटचोक,१ असोज । नेकपा एमालेको भ्रातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन सुन्दरहरैँचामा हुदैँछ । आदिवासी समुदायको बाहुल्यता रहेको सुन्दरहरैँचाको पुरानो बजार हरैँचामा यहि असोज १० गते अधिवेशन हुने भएको हो।
बिहान  ११ बजे देखि सुरुहुने अधिवेशनको नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गर्ने तय भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मोरङका  अध्यक्ष प्रभाग कुमार खवासले जानकारी दिए ।
अधिवेशनमा पार्टी स्थायी  कमिटी सदस्यहरु भानुभक्त ढकाल,कृष्ण गोपाल श्रेष्ठ,शेरधन राई,कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की,पार्टी पोलिटव्युरो सदस्यहरु शिवमाया तुम्बाहाम्फे,गोकुल घर्ती मगर तिलकुमार मेन्याङ्बो महांसघका अध्यक्ष पासाङ शेर्पा,महासचिव  पेम्बा भोटे गुरुङ,यज्ञराज सुनुवारले सम्बोधन गर्ने  अध्यक्ष खवासले  बताए।
विराटचोक बजार देखि करिव ९ किलोमिटर दक्षिणमा अवस्थित हरैँचा बजारमा हुने अधिवेशनको मिति नजिकिए संगै अहिले सुन्दरहरैँचामा रौनक बढेको छ । अधिवेशनलाई सफल बनाउन स्थानिय पार्टी कमिटी लगायत नेताहरु सक्रियरुपमा लागि परेको पार्टीका स्थानिय युवा नेता राम राईले बताए ।
अधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरु बनेको अर्का युवा नेता मोहन राईले बताए । कोशी प्रदेशको तराई देखि पहाडी जिल्ला हुदैँ हिमाली जिल्ला गरी १४ ओटा जिल्लाका गरी पाँच सयभन्दा बढि प्रतिनिधिहरुको सहभागिता रहने महासंघ मोरङका सचिव दावा लामाले  जानकारी दिए ।