बर्दिबास,६ असोज । महोत्तरीको सोनमा गाउँपालिकामा शिक्षक सरुवा विषयलाई लिएर भएको आन्दोलनमा पक्राउ परेको सातजना पुर्पक्षका लागि जेल चलान भएका छन् । 

पक्राउ गरेका मध्ये महोत्तरी जिल्ला अदालतले ६ जनालाई पुर्पक्षमा  राखी  मुद्दा  चलाउने र १ जनालाई धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । अदालत एकजनालाई धरौटीमा छाड्न आदेश गरेपनि धरौटी रकम बुझाउन नसक्दा पुर्पक्षका लागि जेल चलान भएको जनाइएको छ ।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश पूर्व ढकालको इजलासले सोनमा गाउँपालिका–१ बस्ने उपेन्द्र कुमार साह सुडी, राकेश कुमार महरा, नजामुदिन अन्सारी, महेश कुमार यादव, रामकेवल यादव र सोही गाउँपालिका वडा नम्बर २ बस्ने ललिन्द्र यादवलाई पुर्पक्षमा राखी मुद्दा चलाउन आदेश गरेको महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी महेन्द्र झाले जानकारी दिनुभयो ।

सूचना अधिकारी झाले दिनुभएको जानकारी अनुसार सोही मुद्दामा रामप्रसाद पासमानलाई १ लाख ५० हजार धरौटी राखी छाड्ने आदेश भएपनि धरौटी रकम जम्मा गर्न नसक्दा पासमानलाई पनि जेल पठाइएको बताउनुभयो । 

यता सोही मुद्दामा पूर्व गाउँपालिका अध्यक्ष राजकुमार यादव, वडा नम्बर १ का वडाध्यक्ष अशोक यादव र सोही वडाका शैलेन्द्र यादव फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । फरार रहेका उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

गाउँपालिकाले माध्मिक तहका गणित, निम्न माध्मिक तह अङ्ग्रेजी र समाजिक विषय अध्यापन गराउँदै आउनु भएका शिक्षकहरू ४२ वर्षीय शत्रुधन प्रसाद यादव, ५२ वर्षीय तेज नारायण मण्डल र ३७ वर्षीय सिकेन्द्र श्रेष्ठलाई सरुवा गर्न खोजेको विरोधमा गत भदौ १९ गते विद्यार्थीहरू पालिकामा चर्को विरोध प्रदर्शन तथा आन्दोलन गरेका थिए ।

त्यसैक्रममा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले कार्यालयअगाडि राखिएको प्र २–०३–०१९ प  ९१५८ नम्बरको मोटरसाइकल र ज.११प ४९६६ नम्बरको मोटरसाइकलमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

यता, स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्याँस प्रहार गरेको थियो । आन्दोलन गर्न विद्यार्थीलाई उक्साएको र आन्दोलनमा संलग्न आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको थियो ।