काठमाडौं,२८ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशको राजनीतिलाई स्थिर बनाउन एमालेसहितको समाधान खोजौं भन्ने आफू र अर्का महामन्त्री गगन थापाको प्रस्ताव सभापति शेरबहादुर देउवाले अस्वीकार गर्दा अहिलेको अवस्था आएको प्रष्टिकरण दिनुभएको छ ।

महामन्त्री शर्माले आज साँझ सामाजिक सञ्जालमा आफ्नो वक्तव्य राख्दै गठबन्धन कायम राखेरै कोशीमा एमालेसहितको समाधान खोजौं भनेपनि संस्थागत निर्णय आफूहरु मान्न बाध्य भएको प्रष्टिकरण दिनुभएको हो ।

अर्को गठबन्धन बनाउने भए पनि संस्थागत निर्णय गरौं भन्ने आफूहरुको मत रहे पनि अहिले सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालामा एकैखाले प्रवृत्ति देखिएको शर्माको आरोप छ ।

‘व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो न त ‘फरक विचार समूहको नेता’ले आफ्नै समूहभित्र ‘साझा मत’ खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न,’ शर्माले लेख्नुभएको छ, ‘जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस । हामी बदलिन तयार छौं । पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ ।’

  • यस्तो छ शर्माको वक्तव्य

‘कोशी घटना’लाई ‘डढेलो’ बन्न नदिन संयम र परिपक्वता राखौं ।

‘गणितीय जटिलता’ अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो–‘कोशीमा एमालेसहितको समाधान खोजौं । तर, मौजुदा गठबन्धन कायमै राखेर’ ।
कांग्रेस, माओवादी र ‘एस’को गठबन्धन संसद विघटनविरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो । कांग्रेसको संस्थागत निर्णय पनि यही हो । पुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं । तर, पार्टीको संस्थागत निर्णय मान्यौं ।

यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं । सधैं यो बोकिरहनुपर्छ, जरुरी छैन । तर, संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न ।

सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ । तर, घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न । ‘पुस १०’ पनि नबिर्षौं ।

माओवादीको यक्ष प्रश्न– कोशीमा एमाले नेतृत्वको सरकार छोड्यौं, सभामुख छोड्यौं, कांग्रेसलाई दुई पटक ‘ब्ल्याङ चेक’ दियौं । तेस्रो पटकमा हामीले किन नपाउने ?

कांग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनुपर्ने ? यो गठबन्धन दलहरुको कि गुटहरुको ?

कोशी ढुक्कै कांग्रेसको भागमा, कर्णाली माओवादीको या मधेस पूरै जसपाको भन्ने कुनै सहमति भएको छैन । सबै प्रदेशमा आलोपालो हुने हो । परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छ ।

गठबन्धन कि गर्नुहुन्न, गरेपछि राम्रो नराम्रो सबै ब्यहोर्नुपर्छ । एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ ।

सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो । गणित नै त्यस्तो छ– एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन । यस्तो बेला नेतृत्वले निरन्तर संवादमार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ ।

अनि जरुरी छ गम्भीर आत्मसमीक्षा !

व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो, न ‘फरक विचार समूहको नेता’ले आफ्नै समूहभित्र ‘साझा मत’ खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न ।

जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् । हामी बदलिन तयार छौं । पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ ।