इटहरी,२७ मंसिर । करिव एक बर्षअघि तामझामका साथ मोरङको बेलबारी–३ मा उद्घाटन गरिएको कोशी प्रदेश प्रहरी अस्पताल सोमबार रातीनै सुनसरीको इनरुवा सारिएको छ। त्यति बेलाका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेको १५ शय्याको प्रदेश प्रहरी अस्पताल रातारात बेलबारीबाट इनरुवा सारिएको हो।
प्रहरी अस्पतालको हेरचाह गर्दै आएका डिएसपी सरोज सिंह सामान लिएर राति नै ईनरुवा गएको र अहिले आफूहरुको सम्पर्कमा नरहेको बेलबारी–३ का वडाध्यक्ष योगेन्द्र प्रसाद सुवेदीले जानकारी दिए। अस्पतालका आधा जति फर्निचर तथा स्वास्थ्य सामाग्री रातारात इनरुवा सारिएको बारेमा बिहान मात्र आफूहरुले थाहा पाएको र अहिले समान रोकेर राखेको वडाध्यक्ष सुबेदीले बताए।
‘यो सरकारी निकाय हो रातारात समान लानुपर्ने के पर्यो यहाँ संचालन गर्न नसक्ने भए स्थानिय निकायसंग छलफल गरेर लागेको भए राम्रो हुने थियो,उनले राजधानीसंग भने,अहिले समान लिएर गएका डिएसपी सिंह पनि हाम्रो सम्पर्कमा छैनन् हामी चार बजे मुख्यमन्त्री केदार कार्कीलाई ध्यानाकर्षण गर्न बिराटनगर जाँदैछौ।’
मुख्यमन्त्री कार्कीलाई भेटेर छलफलका लागि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहितका अधिकारीहरुलाई अस्पताल फ्रिता ल्याउने बारेमा दबाब दिने उनले बताए। यस बारे बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईलाई सम्पर्क गर्दा आफू संखुवासभामा रहेकाले उपप्रमुखसंग बुझन आग्रह गरे।
उप – प्रमुख नितु थापा कोइरालासंग पनि सम्पर्क नभएपछि नगरपालिकाकाका प्रवक्ता टेक बहादुर राईसंग बुझदा आफूले पनि भर्खरै प्रवक्ताको जिम्मेवारी पाएको र मापदण्ड अनुसार दुई बिग्घा जग्गा हुनुपर्ने र नगरपालिकाले त्यति जग्गा उपलब्ध गराउन नसक्दा अस्पताल अन्यत्र सारिएको भन्ने सुन्नमा आएको बताए।
यद्यपि आफूले पनि वास्तविकता के हो बुझ्ने काम भैरहेको र मंगलबार दिउसो ४ बजे उपप्रमुख,बेलबारी–३ का वडाध्यक्ष सहितको टोली गएर मुख्यमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको प्रवक्ता राईले बताए। पूर्वप्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी र आश्रित परिवारसमेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने सञ्चालनमा ल्याइएको उद्देश्यले प्रदेश प्रहरी अस्पताल अन्यत्र सारिएको भन्दै स्थानियहरुले बिरोध जनाएका छन्। यो समाचार राजधानी दैनिकमा छापिएको छ ।




















