विराटनगर — वैशाख ६ गतेका लागि  कोशी  प्रदेशको प्रदेशसभा अधिवेशन आह्वान भएको छ। कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गते कोशी  प्रदेशको अधिवेशन आह्वान गरेका हुन् । 

केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले २६ चैतमा अधिवेशन मागसहित निवेदन दिएका थिए । सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए ।

दुई दिन परामर्श गरेका प्रदेश प्रमुख खापुङले ६ बैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।