काठमाडौं —  सरकारले आगामी वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरुङ्गमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने भएको छ । कुल २,६८८ मिटर लामो उक्त सुरुङ छिचोल्ने लक्ष्य मार्चको पहिलो साताका लागि नै तय गरिएको थियो। तर स्थानीय समुदायले केही मागहरू राख्दै एक महिनासम्म निर्माण कार्यमा अवरोध पुर्‍याएपछि मूल सुरुङ खन्ने काममा सम्पन्न गर्ने मिति सरेको थियो ।

उक्त परियोजनाका अनुसार मूल सुरुङ अन्तर्गत अब २ मिटर मात्रै छिचोल्न बाँकी अन्तिम चरणका कामहरू भइरहेको छ । सुरुङ छिचोल्ने काम वैशाख ३ गतेका लागि तय भएको छ । सन् २०१६ मा जापान सरकारसँग ८ अर्ब रुपैयाँ ऋण लिएर नेपाल सरकारले अघि बढाएको यो परियोजना अन्तर्गत सुरुङ निर्माणसहितका काममा ११ अर्ब रुपियाँ जति खर्च भइसकेको छ। कुल लागत २२ अर्ब रुपैयाँ रहेको यो परियोजना अन्तर्गत ६ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको छ ।