भोजपुर । नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । नवौं अधिवेशन अन्तरगत आइतबार सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष शरणकुमार राईको प्यानललाई हराउँदै निवर्तमान उपाध्यक्ष खड्काको प्यानल बिजयी भएको हो ।

अध्यक्षमा निर्वाचित मक्करले ३१७ भोट पाउँदा शरण राई ९४ भोटले पछि पर्दै २२३ मतमा रोकिए ।   नेकपा एमालेको भोजपुर जिल्ला कमिटी चयनका लागि भएको निर्वाचनमा पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पा पराजित भएका छन् । उपाध्यक्षको उम्मेदवार रहेका उनी किरण राईसँग ९५ मत अन्तरले पराजित भएका हुन् । उपाध्यक्षमा किरण राई ३११ मत ल्याएर विजयी भए भने कृपाशुर शेर्पाले २१६ भोट पाएका थिए । सचिवमा ३४७ भोट ल्याएर पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्षसमेत रहेका एक्सन राई विजयी हुँदा ज्ञानेन्द्र कार्कीले १६८ भोटमात्र ल्याए ।  एक्सनले पदाधिकारीमा सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

उपसचिवमा ३०४ भोट ल्याएर दौलथ कुलुङ राई विजयी हुँदा जगतबहादुर चौहानले १७३ भोट र साइती राईले ११ भोट ल्याइन् । गत स्थानीय चुनावमा टिकट नपाएपछि विद्रोह गरेर साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष जितेका दौलथले यही अधिवेशनबाट एमालेमा कमव्याक गरेका छन् ।

महिला उपसचिवमा रमादेवी राई २९३ भोट ल्याएर विजेता बन्दा मेरिका राई २१६ भोट  ल्याएर पराजित भइन् । नयाँ नेतृत्व चयनका लागि ८१ वटा वडाका छ सय आठ प्रतिनिधिमध्ये पाँच सय ७३ जनाले मतदान गरेका थिए।  सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन भएको थियो।
खुला सदस्यमा इन्द्र थापा, रेवतीरमन थापा, बद्रीनाथ निरौला, राजेश कटुवाल, नवीन प्रधान तथा महिला सदस्यतर्फ आशादेवी राई, सुस्मिता राई र संगीता कँडेल निर्वाचित भएकी छन्। अधिवेशनले पदाधिकारीसहित ९० सदस्यीय कार्यसमिति चयन गरेको हो।
नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुहरु स्थायी कमिटी सदस्य एवं कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले पक्षधर हुन्  ।