काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णयमा सरकारले ढिलाइ गरेको भन्दै तत्काल निकासा दिन माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बुधबार बोल्दै पराजुलीले बाढी आएको २८ दिन पूरा भएर २९ दिन लाग्दासमेत बेपत्ता नागरिकका परिवार अन्योलमा रहेको बताए।
उनले भोटेकोशी क्षेत्र व्यापारिक नाका भएकाले बाढीको असर प्रभावित क्षेत्रमा मात्र सीमित नभई देशका ६५ जिल्लासम्म पुगेको दाबी गरे। तर, बेपत्ता नागरिकका विषयमा सरकारले आवश्यक निर्णय नगर्दा परिवारले राहत तथा क्षतिपूर्ति पाउन नसकेको उनको भनाइ थियो।
पराजुलीले अघिल्ला बाढी–पहिरोका घटनामा सरकारले बेपत्ता व्यक्तिलाई पाँच दिनभित्र मृत्यु सरह कायम गर्ने मन्त्रिपरिषद् निर्णय गरी राहत निकासा दिने गरेको उल्लेख गर्दै यसपटक त्यस्तो निर्णय अझै नभएको बताए।
“अघिल्ला सरकारले पाँच दिनमै लिने निर्णय अहिले २९ दिनसम्म भएको छैन,” उनले संसदमा भने।
पराजुलीले परिवारका सदस्य गुमाएका नागरिकलाई राज्यले तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै बेपत्ता नागरिकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय अविलम्ब गर्न सरकारसँग आग्रह गरे।


