विराटनगर — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले आफू कुनै पनि विदेशी शक्तिको समर्थन वा दलालीबाट होइन, नेपाली जनताको मतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।
धनकुटामा आयोजित पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै साम्पाङले जनताले चाहेमा आफू केही समयमै प्रधानमन्त्री बन्न सक्ने बताए।
उनले भने, ‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैन भनेर एक जना दाइले भन्नुभयो। त्यो कुरा सुनेपछि झन् प्रधानमन्त्री बन्ने सोच आएको हो।’
साम्पाङले देश विकास गर्न प्रधानमन्त्रीको जिम्मेवारी आवश्यक पर्ने तर्क गर्दै बस चलाउन चाबी चाहिने जस्तै देश बनाउन नेतृत्वको चाबी प्रधानमन्त्रीसँग हुने बताए।
उनले भारत, चीन वा अन्य कुनै विदेशी शक्तिको आशीर्वादबाट प्रधानमन्त्री बन्ने सोच नरहेको स्पष्ट पार्दै भने, ‘म कुनै विदेशीको पाउमा साष्टाङ्ग दण्डवत् गरेर प्रधानमन्त्री बन्ने होइन। नेपाली जनताको सार्वभौम मतले प्रधानमन्त्री बन्ने हो।’
प्रधानमन्त्री बनेपछि ३ करोड नेपालीका ६ करोड हातलाई काममा परिचालन गर्ने आफ्नो लक्ष्य रहेको पनि उनले बताए।
उनका अनुसार भाषण र कलमले मात्र देश नबन्ने भन्दै श्रमदान र काममार्फत विकास सम्भव हुने दाबी गरे।
साम्पाङले आफूलाई ‘आगो बोकेको मान्छे’ भन्दै विरोधी र देशी–विदेशी शक्तिलाई नजिस्काउन चेतावनी पनि दिए।
धरान उपमहानगरपालिकाको निर्वाचन सम्झिँदै उनले भने, ‘ठूला राजनीतिक दललाई पछारेर माइक बोकेर एक्लै निस्किएको मान्छे हुँ। अहिले मसँग लाखौँ श्रमदाताहरू छन्।’
विदेशीको चाकरी गरेर राजनीति गर्नेहरूलाई खबरदारी गर्दै साम्पाङले आफूलाई जतिसुकै पछारे पनि फेरि उठ्ने ‘कहिल्यै नफुट्ने भकुन्डो’ जस्तै रहेको बताए।


