काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले जेन्जी आन्दोलनका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै खत्रीले जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह भएको हो वा होइन भन्ने विषयमा सदनबाटै संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताए।

उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउनुपर्नेमा जोड दिँदै दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताए।

खत्रीले भने, ‘जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन ? हो भने यही सदनबाट संकल्प प्रस्ताव ल्याएर पास गरौँ। अनि दोषीलाई कठघरामा उभ्याएर जेन्जीलाई न्याय दिने संकल्प गरौँ। नत्र शहीदकी आमाको आँसुले अवश्य पोल्नेछ।’

उनले अघिल्लो संसद् बैठकमा रास्वपा सभापति रवि लामिछानेले ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो’ भनेको स्मरण गर्दै अहिले शहीदकी आमाले नै अपमान भएको महसुस गरेर रुनुपर्ने अवस्था आएको बताए।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको हातमा कापी–किताब र मुखमा भ्रष्टाचारविरोधी नारा रहेको उल्लेख गर्दै खत्रीले उनीहरूमाथि गोली प्रहार भएको दाबी गरे।

उनले शहीदको रगत र आमाको आँसुको हिसाब हुनुपर्ने भन्दै आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कारबाही गरी न्याय सुनिश्चित गर्नुपर्ने बताए।