काठमाडौं । प्रतिनिधि सभाको आजको वैठकमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि उत्तेजितरुपमा व्यवहार गरेका छन् । आजको वैठकमा प्रतिनिधि सभा तनावग्रस्त भइरहँदा उपसभापति गुरुङले यस्तो व्यवहार देखाएका हुन ।
चर्को स्वरमा नाराबाजी गरिरहेका कांग्रेस नेता गुरुङलाई सुरुमा ओलीले कोट्याएर केही भनेलगत्तै गुरुङले ओलीप्रति उत्तेजित हाउभाउ देखाएका थिए ।  धनराज किन आक्रोशित भएका थिए भन्ने प्रश्नमा एक एमाले नेताका अनुसार गुरुङ गृहमन्त्रीलाई जसरी पनि रोक्ने ध्याउन्नमा थिए र ओलीले सम्झाउन खोज्दा उनी उत्तेजनामा आएका हुन् । ‘गृहमन्त्रीलाई जान दिन्नँ, म जसरी नि रोक्छु । म रोक्छु, रोक्छु । कसले छेक्न सक्छ’, भन्दै गुरुङ प्रस्तुत भएका ती नेताले बताए ।
ओलीले घेराउ गर्ने ठाउँ यो नभएको (सत्तापक्षको रो) बताउँदा गुरुङ झन् आक्रोशित बनेका थिए । ‘यो शिष्टता भएन । यो तपाईंको ठाउँ होइन, अगाडि गएर घेराउ गर्नुस,’ ओलीको भनाइ उद्धृत गर्दै ति नेताले भने ।त्यसक्रममा कांग्रेसका धनराज गुरुङले ओलीको नजिकै गएर औंला उझ्याउँदै अभद्र व्यवहार गरेका थिए ।
गुरुङ हात हाल्ने ढंगले प्रस्तुत भएपछि एमालेका प्रमुख सचेतक महेश वर्तौला,ठाकुर गैरे,रघुजी पन्त लगायत प्रतिवादमा उत्रिएका थिए ।
संसदमा गृहमन्त्री लामिछानेलाई बोल्न सभामुख देवराज घिमिरेले बोलाएपछि कांग्रेसले नाराबाजी गर्दै रोक्न खोजेको थियो । त्यस क्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो । त्यसपछि सभामुख घिमिरेले संसद स्थगित गरेका थिए ।

ओलीमाथि गुरुङले गरेको उत्तेजना व्यवहारको सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेसले माफी माग्नुपर्ने बताएका छन् । सापकोटाले भने मर्यादालाई भुलेर जे गर्नुभयो, त्यो राम्रो भएन’, । ‘कांग्रेसका सिनियर नेताहरुबाट जे क्रियाकलाप भयो, यसमा क्षमा मागेर आइन्दा संसदलाई शोभनीय बनाउँछौं भनेर कमिटमेन्ट गर्नुपर्छ ’उनले भने।

कांग्रेसका उपसभापति जस्तो व्यक्तीले अर्को पार्टीका अध्यक्ष माथि गरेको अलोकतान्त्रिक व्यवहार प्रति आत्मालोचना गर्नु पर्नेमा महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरेर ओलीले नै प्रतिनिधि सभामा अप्रिय स्थिति सिर्जना गर्न खोजेको उल्टै आरोप लगाए ।  गगन थापाले आरोप लगाए जस्तो आजको सदनको दृष्यमा ओलीले त्यस्तो व्यावहार गरेको देखिदैन ।

ओलीमाथि गुरुङले गरेको उत्तेजना व्यवहारको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले विरोध जनाएका छन् । उनले आज सदनमा नेपाली काँग्रेसले देखाएकाे आराजक एवं अलाेकतान्त्रिक हर्कत  भएको भन्दै  घाेर निन्दा र भर्त्सना गरेका छन् । पार्टी अध्यक्ष प्रति लक्षित असाेभनीय, अभद्र र असंसदीय व्यावहार भएको भन्दै सशक्त प्रतिवाद गर्ने पनि चेतावनी दिए ।