काठमाडौं । सहकारीको रकम अपचलन छानबिन गर्न गठित संसदीय समितिको दोस्रो बैठक आज (शुक्रबार) बस्दैछ । सिंहदबारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको संसदीय छानबिन समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
आज बस्ने बैठकमा छानबिन समितिको कार्यविधिलगायतका विषयमा छलफल हुने थापाले जानकारी दिए । बुधबार सभामुख देवराज घिमिरेको उपस्थितिमा बैठक बसेको थियो । त्यही दिन अर्को बैठकमा कार्यविधिबारे छलफल हुने जानकारी दिइएको थियो । सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न जेठ १५ गते सात सदस्यीय समिति बनेको छ ।
समितिका सभापति सत्तारूढ दल नेकपा (एमाले)का सांसद थापा छन् । सदस्यहरूमा एमालेबाट सरिता भुषाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन् ।
समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ । त्यस्तै समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने पनि कार्यक्षेत्र तोकिएको छ ।
नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका २० सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सोको अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिन भनिएको छ ।


