काठमाडौं — कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ। सशस्त्र प्रहरीका उच्च अधिकारीसँगको विवाद र त्यसपछि सार्वजनिक भएको अडियो प्रकरणबारे सत्यतथ्य बुझ्न भन्सार विभागले उनलाई त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको हो।
भन्सार जाँचपास भएर आएको भनिएको भारतीय नम्बर प्लेटको गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका एसपी खुमबहादुर केसीको टोलीले रोकेपछि विवादको सुरुवात भएको थियो। गाडी रोकेको विषयलाई लिएर अधिकृत भट्ट र एसपी केसीबीच भनाभन भएको थियो। सो क्रममा नियन्त्रणमा लिइएको गाडी तत्काल नछोडे गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मलाई फोन गर्ने भन्दै अधिकृत भट्टले एसपी केसीलाई दबाब दिएको अडियो सार्वजनिक भएको थियो। अडियो बाहिरिएपछि घटनाले प्रशासनिक र सार्वजनिक रूपमा थप चर्चा पाएको हो।
विवाद र अडियोबारे विभिन्न विवरण सार्वजनिक भएपछि घटनाको यथार्थ बुझ्न भट्टलाई विभागमा बोलाइएको भन्सार विभागले जनाएको छ। यद्यपि, भन्सार विभागले घटनामा को दोषी वा निर्दोष भन्नेबारे हालसम्म कुनै अन्तिम निष्कर्ष निकालेको छैन। सार्वजनिक भएका तथ्यहरूमाथि थप अध्ययन र बुझाइपछि मात्र आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाउने विभागको तयारी छ।


