काठमाडौं— अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा शुक्रबार भएको भीषण सैन्य विमान दुर्घटनामा दुई वरिष्ठ सैन्य जनरलसहित १४ जनाको मृत्यु भएको छ।
कङ्गो सेनाका प्रवक्ता मेजर जनरल एफोमी एकेन्गेका अनुसार राजधानी किन्शासा फर्किंदै गरेको सैन्य विमान दुर्घटनामा परेको हो। विमानमा दुई वरिष्ठ अधिकारीसहित प्रतिनिधिमण्डलका सदस्य र चालकदलका सदस्य सवार थिए।
दुर्घटना किन्शासाबाट करिब १५० किलोमिटर टाढा पर्ने केन्ज क्षेत्रमा भएको जनाइएको छ। विमानको अवस्थिति पत्ता लगाउन सुरुवाती चरणमा कठिनाइ भएको थियो।
दुर्घटनापछि सुरक्षा निकायले घटनास्थलमा उद्धार तथा खोजी अभियान जारी राखेको छ। सम्भावित जीवित व्यक्तिको खोजी भइरहेको अधिकारीहरूले बताएका छन्।
प्रारम्भिक जानकारीअनुसार विमान संवेदनशील सैन्य मिसनमा रहेको थियो। उडानका क्रममा प्राविधिक समस्या देखिएको आशंका गरिएको भए पनि दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी छ। सरकारले घटनाको उच्चस्तरीय छानबिन गर्ने आदेश दिएको छ।
दुई वरिष्ठ सैन्य अधिकारीको मृत्युले काङ्गो सेना र देशभर शोकको वातावरण सिर्जना भएको छ। मृतकहरूको पहिचान भने अझै सार्वजनिक गरिएको छैन।


