बुटवल —नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको गठबन्धन साढे ३ वर्ष नै चल्ने दाबी गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उथलपुथल नहुने बताएका हुन् ।

महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धन पूरा समय चल्ने दाबी गरे । कांग्रेस रुपन्देहीको आयोजनामा मंगलबारदेखि सुरु भएको ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनमा बोल्दै थापाले कांग्रेस र एमालेले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पूरा गर्ने बताए  । साथै उनले विगतमा पनि यी दुई पार्टीले गरेको समिकरण निश्चित उद्देश्य पूरा गर्नकै लागि भएको बताए।

‘कांग्रेस र एमालेको सरकार पहिलो पटक अहिले मात्र बनेको त होइन,’महामन्त्री थापाले भने , ‘यसअघि २०४७ सालमा, २०५६ मा, २०६२/६३ मा २०७० सालमा दुई दल मिलेर नै सरकार बनाएका थियौं । जे काम गर्न भनी मिलेका छौं, त्यो पूरा हुन्छ।’

महामन्त्री थापाले संविधान गतिशील दस्तावेज भएको र यसलाई संशोधन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले कांग्रेसले सुरु गरेको प्रशिक्षण देशभरि नै चल्नेसमेत जानकारी दिए । ३ दिनसम्म चल्ने प्रशिक्षणमा गोविन्द पोखरेल, सुरेश आचार्य, छन्दकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण दिने छन् ।