काठमाडौँ — एमाले पूर्व उपाध्यक्ष नेता डा. भीमबहादुर रावललाई भित्र्याउन नेकपा एकीकृत समाजवादीका नेताहरूले कसरत थालेका छन्। अध्यक्षबाहेकका जुनसुकै जिम्मेवारी दिन तयार रहेको भन्दै एकीकृत समाजवादीले रावललाई सन्देश पठाइसकेको छ। 

पछिल्ला दिन रावलसँग एकीकृत समाजवादीका पदाधिकारीले दैनिकजसो कुराकानी गरिरहेका छन्। रावलले मागेकै पद दिन समेत तयार रहेको एकीकृत समाजवादीका एक उच्च पदाधिकारीले जानकारी दिए ।

  • दुई बालिका मृत्यु प्रकरण : हेर्नुहोस भिडियो 

‘अहिले हामी भीम रावलजीसँग कुराकानी गरिरहेका छौँ,’ उपाध्यक्षसमेत रहेका ती नेताले भने, ‘अध्यक्षबाहेक जे माग्यो त्यही दिन्छौं, नयाँ सिर्जना गरेर भएपनि हामी दिन्छौ। तपाईँ यस्तो तालले किन बस्नुहुन्छ भनिरहेका छौँ।’तर, रावलले प्रष्ट जवाफ दिएका छैनन्।

एकीकृत समाजवादीले भने रावललाई पार्टीमा ल्याएर देशव्यापी नयाँ माहोल बनाउन खोजेको छ। ‘उहाँ (रावल) आउनुभयो भने सम्मानित एउटा पद पाउनुहुनेछ,’ उनले थपे, ‘उहाँ तत्कालै हतारिने मान्छे पनि होइन, उहाँका आफ्नै किसिमका विशेषता छन्। उहाँ चानचुने तालले प्रभावित हुने, निर्णयमा पुगिहाल्ने मान्छे होइन।’

एमालेमा हुँदा माधव नेपालको विश्वासपात्र नेता थिए, रावल। तर, २०७८ भदौ ९ गते एमालेबाट विद्रोह गर्दा रावलसहितका दश चर्चित नेताहरूले नेपालको साथ छोडेका थिए। एमालेमा पनि रावल गत निर्वाचनमा टिकट नपाएदेखि पार्टीमा निष्क्रिय रहेका छन् । नेपालखबर