काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट प्रयोग गर्ने भाषाप्रति सञ्चारमन्त्री पुथ्वीसुब्बा गुरुङलाई सचेत गराएका छन् ।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले संघीयताको बिषयमा प्रहरीका अधिकारीहरुले बोलेको भनाईलाई लिएर आइजीपीको जिब्रो थुत्नुपर्ने भन्ने बिषयमा प्रधानमन्त्री ओलीले सबिस्तार जानकारी लिएर शब्द प्रयोग गर्दा ख्याल गर्न सचेत गराएका हुन् ।
‘प्रधानमन्त्रीले यस बिषयमा मसँग जानकारी लिनुभयो । मैले सबिस्तार जानकारी गराएँ । उहाँले सवै कन्टेन्ट सुन्दा ठीक रहेछ । अव शब्दको प्रयोगप्रति सचेत हुनुहोला भन्नुभयो । मैले उहाँको निर्देशनलाई स्वीकार गरेको छु,’ सञ्चारमन्त्री गुरुङले भने ।
उनले आगामी दिनमा कम बोल्न र शब्द चयन गर्दा बिशेष ध्यान दिन पनि प्रधानमन्त्री ओलीले सचेत गराएको भन्दै अव त्यसैअनुसार अघि जाने बताए । जिब्रो थुत्नुपर्ने भनाईलाई लिएर सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री गुरुङसँग आज बालुवाटारमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएका हुन् ।




















