काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेकाे सरकारले जनतामा आशा जगाएकाे दाबी गरेका छन  ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेकाे सचिवालय बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै उनले केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि जनतामा आशा जागृत भएको बताए ।

सरकारको कामको समीक्षाको समय सुरु भइनसकेकाे बताउँदै उनले भने - 'सरकारको कामको समीक्षाको समय सुरु भएको छैन, यद्यपि सरकारले नयाँ सरकार गठन भएपछि पार्टी अध्यक्षको नेतृत्वको सरकार गठन भएपछि जनतामा आशा जागृत भएको पार्टीको मूल्यांकन छ ।'

सरकार र संसद्काे कामलाई प्रभावकारी बनाउने हिसाबले सत्तारुढ दलबीच छलफल भइरहेकाे भन्दै महासचिव पाेखरेलले त्यसका आधारमा सरकारका कामलाई थप प्रभावकारी बनाइने बताए । सरकारकाे न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल बनिसकेकाे भन्दै उनले कामलाई व्यवस्थित बनाइने बताए  ।

महासचिव पोखरेलले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाबारे संसद् र पार्टी संसदीय दलले गर्ने निर्णय गर्ने बताए  । साे निर्णय पार्टीले स्वीकार्ने पनि उनले बताए  ।