काठमाडौं — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानलाई आफ्नो पेवा ठानेर संशोधनलाई हलुका नठान्न सत्तारुढ दललाई चेतावनी दिएका छन्।

पार्टी जिल्ला कमिटी उदयपुरले शुक्रबार सदरमुकाम गाईघाटमा आयोजना गरेको सन्देशसभामा बोल्दै उनले संविधान संशोधन सबै जनताको चासोको विषय भएकाले दुईतिहाइ बहुमतको दम्भ नदेखाउन आग्रह गरे । 

‘हामीसँग दुईतिहाइ छ भन्ने ठानेर संशोधन गरिहालौँला, सानो पार्टीलाई समाप्त पारिदिउँला, ठूलाको वर्चस्व कायम राखौँला भनेर एमाले त्यो बाटोमा हिँडेको छ,'उनले भने, 'यस्तो अवस्थामा नेपाली कांग्रेसले सजकता अपनाउनुपर्नेछ, सोच्नुपर्दछ।’

संविधान संशोधनका लागि दुई ठूला पार्टीका नेताले राति गोप्य सम्झौता गरेकाे भन्दै उनले यस्ता गोप्य सम्झौता नमान्ने बताए । उनले भने, 'यो जनताको चासोको विषय भएकाले यहाँका नागरिक समाज, राजनीतिक दल, आम जनतासँग छलफल गर्नुपर्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेपाल सधैँ गरिब, सधैँ सहयोग माग्नुपर्ने भएकाले हेपाइमा परेकाे बताए । उनले भने,'तसर्थ जनतादेखि नेता सबै सच्चिएर इमान्दारिताका साथ देश विकासमा लाग्नु पर्छ।’

अध्यक्ष नेपालले देशलाई अघि बढाउने सिलसिलामा सबै लोकतान्त्रिक र वामपन्थी शक्तिलाई एकठाउँमा ल्याएर अघि बढाउन तयार रहेको बताए। उनले नेकपा एसका नेताहरु एमालेमा जाँदै छन् भनेर हल्लाको पछि नलाग्न आग्रह गरे।