काठमाडौं — सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र शब्द छाडेर दलको नाम फेर्ने साहस राख्न रास्वपालाई आग्रह गरेका छन् ।

आज मंगलबार महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित सुझाव–कतिपय असन्तुष्टिको माहौलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नु भयो, एउटा आकार बनाउनु भयो । अब स्वतन्त्र छाडेर दलको नाम जुराउने साहस राख्नुस् ।’ रास्वपाको राष्ट्रिय सम्मेलन काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज (मंगलबार) बाट सुरू भएको छ ।  त्यसतर्फ लक्ष्य गर्दै उनले सम्मेलन सफलताको पनि शुभकामना दिएका छन् ।

शर्माले सहकारी संस्था बचत दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले प्रतिनिधि सभामा पेस गरिसकेको प्रतिवेदनका विषय पनि उल्लेख गरेका छन् । रास्वपाका धेरै सांसदहरूले सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई संसदीय समितिले क्लिन चिट दिएको दाबी गरेका थिए ।

रास्वपा सांसदहरुको अभिव्यक्तिहरूप्रति इशारा गर्दै शर्माले लेखेका छन्, ‘क्लिन चिट, कि क्लियर चिट स्पष्ट हुनुस् । प्रचलित कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं । बरू क्लियर चिट किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नु हुन्छ नै ।’