काठमाडौं—नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले हालै पार्टी परित्याग गर्ने संकेत दिएकी छिन्। । पछिल्लो समय पार्टीमा असन्तुष्ट रहँदै आएकी नेतृ झाँक्रीले तत्कालै पार्टी परित्याग गर्ने संकेत दिएकी हुन् ।

पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहँदै आएकी झाँक्रीले पदाधिकारी निर्वाचनमा महिला उपाध्यक्षको चुनावमा जयन्ती राईसँग पराजित भएपछि यो असन्तुष्टि झनै बढेको देखिएको छ। उनले अध्यक्ष माधवकुमार नेपालले राईलाई जिताउन सक्रिय भूमिका खेलेको आरोप लगाउँदै आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गरेकी छिन्।

झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छिन्, "यात्रामा जब मोडहरू आउँछन् नि, त्यो बेला मोडिनुपर्छ।" यस अभिव्यक्तिले उनले पार्टी छोड्ने तयारी गरिरहेकी हुनसक्ने अनुमान गरिएको छ। यसबीच, उनी पुन: एमालेतर्फ फर्किने चर्चा पनि भइरहेको छ।

उनले फेशबुकमा लेखेकी छिन्-

यात्रामा जब मोडहरू आउँछन नि त्यो बेला मोडिनुपर्छ। शुभसन्ध्या अशल मनहरूलाई