काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) माओवादी केन्द्रको उपाध्यक्ष नियुक्त भएका छन्। पूर्वउपराष्ट्रपतिले आफ्नो संवैधानिक पदीय मर्यादालाई पन्छ्याउँदै सक्रिय पार्टी भूमिकामा फर्किएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा चैत्र १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य तथा उपाध्यक्षमा मनोनीत गरेको हो। यसअघि नै पार्टीले उनलाई उत्पादन व्यूरोको इञ्चार्जको जिम्मेवारी दिएको थियो। पुन हालसम्म पार्टीका बैठकहरूमा आमन्त्रित नेताको रूपमा सहभागी हुँदै आएका थिए।

२०७२ देखि २०७९ सम्म उपराष्ट्रपति रहेका पुनले पुनः सक्रिय राजनीतिमा फर्किएपछि उनलाई प्राप्त पूर्वपदाधिकारीका सेवा सुविधा फिर्ता गर्नु पर्ने आवाजसमेत उठेको छ। सामाजिक सञ्जालमा धेरैले राज्यको सुविधामा बसेर पार्टी राजनीतिमा संलग्न हुनु संविधानको भावना विपरीत भएको तर्क गरेका छन्।

यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि नेकपा एमालेको गतिविधिमा सहभागी हुँदै आएकी छन्। उनले औपचारिक जिम्मेवारी नलिए पनि पार्टीका कार्यक्रमहरूमा सम्बोधन गर्ने गरेकी छन्।

संविधानले पूर्वपदाधिकारीहरूको भूमिका र मर्यादा बारे स्पष्ट व्यवस्था नगरेको अवस्थामा, यस्ता गतिविधिले संवैधानिक मर्यादा र राजनीतिक आचरणको बहस चर्काएको छ।