जनकपुरधाम—प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान मधेस प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्न लागेका सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको स्वागतका लागि विशेष तयारी गरिएको छ । प्रदेशसभा सचिवालयका अनुसार सभाहललाई व्यवस्थित रूपमा सजाइएको छ भने जनकपुरधामका विभिन्न स्थानमा स्वागतद्वारहरू निर्माण गरिएको छ।
प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले सम्बोधनको लागि आवश्यक सम्पूर्ण प्रबन्ध पूरा भएको जनाए। प्रधानमन्त्रीको सम्बोधनले प्रदेशका विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउने र विकासको सन्देश दिने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीको सम्बोधनका क्रममा मधेसका प्रमुख राजनीतिक मुद्दाहरू, संघीयताको सुदृढीकरण, र विकासका प्राथमिकताहरूमा केन्द्रित रहने सम्भावना छ।
सभामुख मण्डलले भने, "प्रधानमन्त्रीको सम्बोधन प्रदेशसभा बैठकको मुख्य कार्यसूची हो। बैठकले मधेस प्रदेशका विकासका मुद्दामा केन्द्र सरकारसँगको समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।"
सम्बोधनका दौरान प्रदेशका जनता र जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग आफ्नो अपेक्षाहरू राख्ने अवसर पाउने विश्वास गरिएको छ।




















