काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको वर्तमान सरकारले संविधानको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन प्रदान गर्ने बताएका छन्।

सिरहा बजारमा आयोजित पार्टीको ११औं जिल्ला अधिवेशन सभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकार आगामी चुनावसम्म कायम रहने स्पष्ट पारे। उनले भने, “यो सरकार चुनावसम्म टसमस हुँदैन। अबको १५ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार हस्तान्तरण गर्छु। सरकार अहिले ढल्छ, भोलि ढल्छ भन्नेहरू अब थाकिसके। यो मजबुत सरकार हो।”

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्किने सपना देख्नेहरूको अपेक्षा कहिल्यै पूरा नहुने दाबी गरे। उनले १५ चैतका अराजक गतिविधिहरूले राजतन्त्र पक्षधरहरूको वास्तविकता उदाङ्गो पारेको बताए। “आगजनी र तोडफोड गर्ने मानिसहरूको हातमा शासन जान सक्दैन, जान दिनु पनि हुँदैन,” उनले भने।

उनले थपे, “तपाईंहरू ढुक्क हुनुहोस्। राजतन्त्र कुनै हालतमा फर्कँदैन। एमाले र कांग्रेसजस्ता पुराना र ठूला पार्टीहरूले चलाएको सरकारले संविधानको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएरै छाड्नेछ।”