काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली आज चितवनको भरतपुरमा रहेको ६ लेनको सडकको उद्घाटन गर्न चितवन जाने भएका छन्। उनीसँगै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि सहभागी हुने बताइएको छ ।

भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडक ६ लेनको निर्माण भएको छ।जसअनुसार चार लेन र दुवै साइडतर्फ थप १–१ सर्भिस लेन तयार निर्माण सम्पन्न भए पछि प्रधानमन्त्री ओली आज त्यसको उद्घाटनमा चितवन जान लागेका हुन्।

तेस्रो पटक प्रधानमन्त्री हुदाँ ओलीले २०७७ माघ १७ मा यो सडकको शिलन्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने अनुपस्थित भएकी थिइन्।

एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ। ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ।

त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ। जसको उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्दैछन्।

सडक उद्घाटन पुर्वसन्ध्यामा खुशियाली मनाउदै राष्ट्री युवा संघ नेपाल भरतपुर महानगर कमिटीले बिहिबार भव्यरुपमा मोटर साइकल र्‍याली निकालेको थियो ।