काठमाडौं— नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले पार्टी नेतृ रामकुमारी झाँक्रीलाई लक्षित गर्दै चर्को टिप्पणी गरेका छन्। झाँक्रीले शिक्षकहरूको आन्दोलनलाई ‘रमिता’ भन्दै आलोचना गरेपछि पराजुलीले सामाजिक सञ्जालमार्फत प्रतिउत्तर दिएका हुन्।
रामकुमारीले फेसबुकमा लेख्दै शिक्षकहरूले सरकारको कुरा नसुनी काठमाडौंमा सडकमा ‘रमिता देखाएको’ आरोप लगाएकी थिइन्। उनको यो टिप्पणीले सामाजिक सञ्जालमा चर्को आलोचनाब भएको छ। झाँक्री र पराजुली दुवै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन्।
झाँक्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै पराजुलीले फेसबुकमा लेखेका छन्, "आफ्नै गुरुहरूको रचनात्मक र सृजनशील आन्दोलनलाई रमिता देख्ने हामी कस्ता शिष्य हौं? गुरुहरूको आन्दोलनलाई सलाम छ।"
उनले शिक्षकहरूको आन्दोलनप्रति समर्थन जनाउँदै, "गुरुहरूलाई सडकमा आउन बाध्य पार्नेहरूलाई लाजसरम हुनुपर्छ। शिक्षकहरूले रामराज्य मागेका होइनन्," भनेका छन्।
यो टिप्पणीले झाँक्री र पराजुलीबीचको मतभेदलाई उजागर गरेको छ। सामाजिक सञ्जालमा नेताहरूको धारणा प्रकट गर्ने शैली र मुद्दाप्रतिको दृष्टिकोणले आमजनताको ध्यान खिचेको छ।




















