काठमाडौं— नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्ना विरुद्धमा दुई चार जनाले नारा लगाए पनि आफूलाई कुनै दुःख नलागेको बताएका छन्। भट्टराई हिजो कञ्चनजङ्घा महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किने क्रममा गृहजिल्ला ताप्लेजुङमा उनीविरुद्ध नाराबाजी भएको थियो।

त्यसबारे उनले भनेका छन्, ‘कार्यक्रम सकेर फर्कनेक्रममा २/४ जनाले मेरा विरुद्ध नारा लगाएछन्। नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन्। मलाई कुनै दुःख छैन। सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ।’

भट्टराईमाथि नाराबाजी गर्ने समूह ‘नो केबलकार’ अभियानसँग सम्बन्धित रहेको बताइएको छ। उनीहरूले कञ्चनजङ्घा क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको विरोधमा नाराबाजी गरेका हुन्।

यसबारे थप स्पष्ट पार्दै भट्टराईले भने, ‘जसले जति जानेको छ वा जे गर्न लगाइएको छ, त्यति नै गर्ने हो। मेरो आग्रह, विवेकले काम गरौँ। प्रायोजकहरूको हतियार नबनौँ। सामाजिक एकता र सद्भाव नबिगारौँ।’

भट्टराईले विरोधलाई लोकतान्त्रिक अधिकारको रूपमा स्वीकार गर्दै यसले समाजमा नकारात्मक प्रभाव नपार्ने गरी गरिनुपर्ने औँल्याए। उनले सामाजिक एकता र सद्भाव कायम राख्न सबैले विवेकपूर्ण व्यवहार देखाउनुपर्नेमा जोड दिए।